'ए' डिभिजन लिग : खुमलटारको दोस्रो जित

'ए' डिभिजन लिगमा हिमालयन शेर्पालाई पराजित गर्दै खुमलटार अंक तालिकाको चौँथो स्थानमा उक्लिएको छ।

काठमाडौँ– नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा दोस्रो जित निकालेको छ।

च्यासल मैदानमा सोमबार सम्पन्न खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

खुमलटारको जितमा मनिष थापा र स्टेफन समिरले १/१ गोल गरे। हिमालयनका विश्वास श्रेष्ठले गरेको गोल सान्त्वना रह्यो।

पहिलो हाफमा १ गोल भएको खेलको दोस्रो हाफमा थप २ गोल भएको थियो।

२२औँ मिनेटमा मनिषले गोल गर्दै खुमलटारलाई शुरूआती अग्रता दिलाएका थिए। ६५औँ मिनेटमा समिरले गोल गर्दा खुमलटारको अग्रता दोब्बर बनाए। ८०औँ मिनेटमा हिमालयनका विश्वासले गोल गरे।

जितसँगै खुमलटारले ४ खेलमा ६ अंक जोडेको छ। खुमलटार अंक तालिकामा चौँथो स्थानमा उक्लिएको छ। पराजित हिमालयनको ४ खेलमा ४ अंक छ।