संवैधानिक पदमा दलहरूको शक्ति सन्तुलन मिलेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको संवैधानिक पदमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक पदमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेको बताएका छन्।

सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको संवैधानिक पदमा राजनीतिक दलहरूको शक्ति सन्तुलन मिलेकोमा आफू खुशी रहेको बताएका हुन्।

उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्षलगायतका संवैधानिक पदमा फरक फरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुशी र गर्वको महसुस गराएको बताए। "र, त्यहाँ सन्तुलन छ। चेक एन्ड ब्यालेन्स हुने किसिमको शक्ति सन्तुलन कायम गरिएको छ," उनले भने।

प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको भन्दै अब विकास, समृद्धि र आवश्यक ऐनहरू निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार रहेको उल्लेख गरे। “तत्काल त कसैलाई अलि नमीठो लागेको हुनसक्छ। कसैलाई अलि बढी मीठो लागेको हुन पनि सक्छ। तर, समग्रमा हेरियो भने एउटा सन्तुलन कायम गरिएको छ। अब हामीले विकास, समृद्धि र आवश्यक ऐन निर्माणको प्रक्रियामा जानु छ,” उनले भने।

प्रधानमन्त्री दाहालले स्थानीय तहलाई संविधानमा संघीय सरकारको इकाईका रूपमा नहेरी स्थानीय सरकारका रूपमा परिभाषित गरिएको बताए। उनले प्रदेश र स्थानीय तहको काम छैन भन्नु राजनीतिक अनैतिकता भएको बताए। उनले संविधानले व्यवस्था गरेअनुसार आवश्यक ऐन र संरचनाहरू निर्माण गरेर मात्रै यसको समीक्षा गर्नु पर्ने धारणा राखे।

प्रधानमन्त्री दाहालले स्थानीय तहले कर धेरै उठाउने गरेको  जनगुनासोलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनले सेवाग्राहीमुखी कर प्रणाली बनाउन स्थानीय तहको ध्यानाकर्षण गराए।