बागलुङ नगरपालिका–५ को बान्द्रेगाउँमा खानेपानीको अभावका कारण गाउँ छाडेर जानेको लहर नै चलेको छ। खानेपानी समस्याको दीगो समाधानका लागि पहल नभएको स्थानीयको भनाइ छ।
ढोरपाटन– बागलुङ बजार नजिकै छ, मालिकाको बान्द्रेगाउँ। डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ।
खानेपानी समस्या समाधान गरिदिने बाचा गरेका नेता धेरैपटक सत्तामा पुगे। व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै। पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन्।
दैनिकी कष्टकर बनेको स्थानीय पार्वती शर्माले बताइन्। विद्यालयका शौचालय गन्हाउने भएका छन्। बागलुङ नगरपालिका–५ मा पर्ने उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन्।
दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन्। बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन। विद्यालयको ड्रम भरिन्न। खानेपानीको चरम अभावका कारण गाउँ छाडेर जानेको संख्यासमेत बढ्दै गएको स्थानीयको भनाइ छ।
आफ्नो घर नजिक विद्यालय रहेको र विद्यार्थीहरू तिर्खाएर आउँदासमेत उनीहरूलाई पिलाउन नसक्दा दुःख लागेको शर्माले बताइन्। “स्कुलमा बालबालिकाहरू काकाकुल भएर आउँछन्। दिउँसो १ बज्यो भने तिर्खा लाग्यो भन्दै आउँछन्,” उनले भनिन्, “यहीँ आएर झुम्मिन्छन्। उनीहरू सबैलाई पानी खुवाउन सकिँदैन। बिहान भरेको एक गाग्री पानीले गाह्रो हुन्छ। पानीको दुःखका कारण गाउँ नै रित्तिन थाल्यो।”
शर्माले खेतीयोग्य जमिन भए पनि पानीको अभावले तरकारी खेती र पशु चौपायालाई खुवाउनसमेत नसकिने अवस्था रहेको सुनाइन्। मुहान नजिक नहुँदा र सरकारले यहाँ ध्यान नदिँदा खानेपानीको समस्या वर्षौँदेखि यथावत् छ। खानेपानीको सहज उपलब्धता हुने भए बसाइँसराइ रोकिन सक्ने शर्माले बताइन्।
चार दशक अगाडि धुरखोलाबाट ल्याएको पानी अहिलेसम्म व्यवस्थित गर्न नसक्दा खानेपानीको समस्या परिरहेको ७० वर्षीय प्रेम शर्मा सापकोटाले बताए। “३५ भन्दा धेरै घरका स्थानीयले खानेपानीको समस्या भोगेका छन्। म सानो हुँदा पनि गाउँमा खानेपानीको समस्या यस्तै थियो,” उनले भने, “अहिले पनि उस्तै छ। गाउँमा पानी ल्याउन कसैको ध्यान गएन। हामीहरू धेरै पीडित छौँ।”
धारामा साँझ बिहान दुई समय खानेपानी आए पनि विद्यार्थीका लागि पर्याप्त नहुने कृष्ण आधारभूत विद्यालयका प्रधानाध्यापक दयाराम सापकोटाले बताए। पानी भर्नका लागि बिहान छिट्टै विद्यालय आउने र साँझ अबेरसम्म बस्नुपर्नेसाथै सरसफाइमा धेरै समस्या परेको उनको भनाइ छ।
बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरिप्रसाद शर्माले खानेपानी योजना अन्तिम चरणमा पुगेको बताए। २०७२ सालदेखि ‘मालिका खानेपानी तथा सरसफाइ आयोजना’ सञ्चालन भए पनि बजेट कम पर्दा योजना सम्पन्न हुन लामो समय लागेको उनको भनाइ छ।
“उपभोक्ता समितिमार्फत ट्यांकी निर्माण भएको छ। पाइप लाइन खन्न बाँकी छ,” अध्यक्ष शर्माले भने, “छिटो सम्पन्न गरेर सञ्चालनमा समस्या समाधान गर्छौँ।” बागलुङ नगरपालिका ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियानमा जुटेको छ।
लामो समयदेखि सिंगो गाउँसहित विद्यालय नै खानेपानीको समस्यामा परेको हुँदा यसको समाधान नभएसम्म ‘बालमैत्री नगर’ घोषणा गर्ने अभियान चुनौतीपूर्ण हुने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
