साप्सुखोला–विजयखर्क खानेपानी आयोजनामा लापरबाही

दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार र उपभोक्ता समितिले लापरबाही गरेको पाइएको छ।  

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनामा लापरबाही भएको छ।

खानेपानी मन्त्रालयको २९ करोड १३ लाख रुपैयाँ लागतमा ठेकेदार र उपभोक्ता समितिले लापरबाही गरेको पाइएको स्थानीय युवराज कार्कीले बताए। 

हो। सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी र उपभोक्ता समितिले २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाको ट्यांकी र पानी वितरणलाइन निर्माण भइरहेको छ।

निर्माणाधीन अवस्थामै ट्यांकी चर्किएका छन् भने पाइपलाइन पनि मापदण्डविपरीत बनाइएको निरीक्षणका क्रममा देखिएको छ। स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्यांकी भत्किन थालेको छ।

गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताइन्। २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट ५२३ परिवार लाभान्वित हुनेछन्।

गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

सम्झौताअनुसार नै काम सम्पन्न गर्न लागिपरेको उपभोक्ता समितिका अध्यक्ष सरोज राईको दाबी छ।