अमेरिका, बेलायत र अस्ट्रेलियाले चीनलाई चुनौती दिन न्युक्लियर क्षमताको अत्याधुनिक पनडुब्बी बनाउनेसम्बन्धी नयाँ योजना सार्वजनिक गरेका छन्।
अमेरिका, बेलायत र अस्ट्रेलियाले न्युक्लियर क्षमताको अत्याधुनिक पनडुब्बी बनाउनेसम्बन्धी नयाँ योजना (अकस) सार्वजनिक गरेका छन्।
चीनको इन्डो प्यासिफिक क्षेत्रमा चीनको प्रभाव र बिस्तारलाई चुनौती दिन भन्दै यी तीन देशले अकस सम्झौता अघि सारेका हुन्। कटिङ–एज प्रविधि र रियाक्टर्स समावेश गरी बेलायतको रोल्स रोएस कम्पनीले न्युक्लियर पनडुब्बी निर्माण गर्ने योजना रहेको बीबीसीले उल्लेख गरेको छ।
सोमबारको घोषणा गरिएको अकस सम्झौताको विवरणअनुसार यी मित्रराष्ट्रहरूले पनडुब्बी बनाउन आवश्यक सीप साटासाट गर्न यस वर्षदेखि रोयल अस्ट्रेलियन नेभी (आरएएन)का सदस्यहरूले अमेरिका र बेलायतका पनडुब्बी शिविरहरूसँग मिलेर काम गर्नेछन्। सम्झौताअनुसार अस्ट्रेलियाले शुरूमा अमेरिकाबाट ३ वटा न्युक्लियर क्षमताका पनडुब्बी प्राप्त गर्नेछ।
सन् २०२७ पछि अस्ट्रेलियाको पश्चिमी क्षेत्र पर्थस्थित आरएएनको शिविरमा बेलायत र अमेरिकाले थोरै संख्यामा न्युक्लियर पनडुब्बी राख्नेछ। त्यसपछि सन् २०३० भित्र अस्ट्रेलियाले अमेरिकी भर्जिनिया क्लास पनडुब्बी किन्नेछ।
नयाँ न्युक्लियर क्षमताका पनडुब्बी निर्माण र डिजाइनका क्रममा यी तीनै देशका प्रविधि प्रयोग गरिनेछ। र यी पनडुब्बीहरू एसएसएन–अकस नामले चिनिने बीबीसीले उल्लेख गरेको छ।
बेलायत र अस्ट्रेलियामा निर्माण हुने भनिएका यी आक्रमण शैलीका पनडुब्बीहरू बेलायती डिजाइनमा बन्ने र तीनै देशका प्रविधिमा आधारित हुने बताइएको छ। यी पनडुब्बीले समुद्र र जमिन दुवैमा क्रुज मिसाइल प्रहार गर्न सक्ने बताइएको छ।
यी तीनै देश आफ्नो क्षेत्रलाई खुला र स्वतन्त्र बनाउने विषयमा प्रतिबद्ध रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्। “आफ्नो सुरक्षा र समृद्धिमा प्रजातान्त्रिक मुलुकहरूले कसरी सहयोग गर्नसक्छन् भन्ने कुरा हामीले यस नयाँ साझेदारीमार्फत सारा विश्वलाई देखाउन खोजेका छौँ”, बाइडेनको भनाइ थियो।
अकस सम्झौतामा अमेरिकी राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले प्रतिबद्धता जनाएका छन्।
अकसका लागि अस्ट्रेलियाले आगामी तीन दशकसम्म ३६८ बिलियन अस्ट्रेलियन डलर खर्च गर्ने त्यहाँको सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
अकस सम्झौतामा सोमबारको घोषणाअनुसार अमेरिकाले भर्जिनिया क्लास पनडुब्बी निर्माण क्षमता र मर्मतका लागि आगामी केही वर्षमा ४ दशमलव ६ बिलियन अमेरिकी डलर खर्चिने प्रतिबद्धता जनाएको छ। यस्तै, अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले पनडुब्बी योजनाले हजारौँ नयाँ रोजगारी सृजना गर्ने बताउँदै यो अस्ट्रेलियाको रक्षा क्षमताको इतिहासमै विशाल लगानी भएको बताए।
यस्तै, बेलायती प्रधानमन्त्री ऋषि सुनकले १८ महिनाअघि सम्झौता सार्वजनिक भएयता विश्वभर अस्थायित्व बढेर गएको बताए। युक्रेनमा अवैधानिक रुसी नियन्त्रणको प्रयास, चीनको बढ्दो दादागिरी, इरान र उत्तर कोरियाका उच्छृङ्खल व्यवहार यी सबैले विश्वमा अव्यवस्था, खतरा र विभाजनको खतरा बढाएको सुनकले बताए।
अमेरिका भ्रमणका रहेका बेलायती प्रधानमन्त्री सुनकले शत्रु राष्ट्रहरूलाई प्रतिकार गर्न आगामी दुई वर्षभित्र रक्षा क्षेत्रमा ६ बिलियन अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
यद्यपि, अकस सम्झौतालाई चीनले बारम्बार आलोचना गरिरहेको छ। गत साता मात्रै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले अकुस साझेदारीले हतियारको दौड बढेको र एसिया प्रशान्तीय क्षेत्रमा शान्ति र स्थायित्व कमजोर बनेको बताएका थिए।
“अमेरिका, बेलायत र अस्ट्रेलियालाई शीत युद्धको मानसिकता र शून्य योगको खेल अन्त्य गर्न र जिम्मेवारीपूर्वक अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरी क्षेत्रीय शान्ति र स्थायित्वमा बढी योगदान गर्न आग्रह गर्दछौँ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओको भनाइ थियो।
इन्डो प्यासिफिक क्षेत्रमा पश्चिमा देशले सैन्य उपस्थिति बढाएकोसम्बन्धी चासोबारे बोल्दै अमेरिकी सुरक्षा सल्लाहकार जेलक सुलिभनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) जस्तै कुनै नयाँ गठबन्धन बनाउने वासिंटनको कुनै मनसाय नरहेको बताएको बीबीसीले उल्लेख गरेको छ।
-एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
