विश्वप्रकाश शर्माको प्रस्ताव– दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गरौँ

कांग्रे‍स महामन्त्री विश्वप्रकाश शर्माले एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्। राजनीतिमा युवाहरूलाई आकर्षित गर्नका लागि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ थियो।

नेपाल ट्रेड युनियन कांग्रेसको मंगलबारबाट काठमाडौँमा शुरू भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्‍याएर शपथ लिन नपाउने व्यवस्था गरेको भए हालसम्म मुलुकले पाँचौँ राष्ट्रपति पाइसकेको हुने स्मरण गराए। उनले सांसद, मन्त्री भइसकेकाहरूले मुलुकको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रूपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखे।

महामन्त्री शर्माले भ्यूटावर बनाउने कुरा, एकैपटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा मुलुकका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले मुलुकलाई प्रतिफल दिन सक्ने आयोजनाको छनोट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताए।

महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताए। “उत्पादन अभिवृद्धि गराउने, निर्माणको एउटा दशक बनाउने काममा तीव्रता दिने काममा लाग्न सके यसले राजनीतिक रूपमा पनि आकर्षण गराउँछ। हाम्रो अहिलेको पुस्ताले बोक्नै नसक्ने रेलमार्गलगायतका प्रोजेक्टहरू बोकेर जाने कुराले वितृष्णा मात्रै जगाउँछ,” उनले भने। 

उनले राजनीति जनताको आर्थिक रूपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पारे।