लघुवित्तको निष्क्रिय कर्जा ८३ प्रतिशत बढ्यो

‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार लघुवित्तको निष्क्रिय कर्जा पछिल्लो ६ महिनाको अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको छ।

काठमाडौँ– पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो ६ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो।

“पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ। त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्धि भएको छ”, प्रतिवेदनमा भनिएको छ।

हाल सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये चार वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन्। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा रकम गत असारको तुलनामा ३.१७ प्रतिशतले बढेर पुस मसान्तसम्म ५९ अर्ब ७८ करोड पुगेको छ। त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम पुस मसान्तमा तीन खर्ब ९१ अर्ब ४४ करोड रहेको छ।

पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा ५२ करोड र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा १८ अर्ब ३४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ। अर्थात् कुल प्रवाहित कर्जामध्ये थोक कर्जा प्रदायकको निष्क्रिय कर्जा ०.८७ प्रतिशत र खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा ४.६८ प्रतिशत रहेको छ।

गत असार मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाको कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात २.५६ प्रतिशत थियो। अर्थात् पछिल्लो ६ महिनामा निष्क्रिय कर्जा ८२.६२ प्रतिशतले बढेको छ।

गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य संख्या ५९ लाख ८८ हजार र ऋणी संख्या ३२ लाख ६० हजार रहेको छ। गत असार मसान्तको तुलनामा लघुवित्तका ऋणी १.३० प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ।

लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिम भारित सम्पत्तिको अनुपातमा न्यूनतम प्राथमिक पुँजी चार प्रतिशत र पुँजी कोष आठ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ। गत पुस मसान्तसम्म समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजी कोष क्रमशः १२.२३ प्रतिशत र १३.४५ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको ६ महिना अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी २.२३ प्रतिशतले र जोखिमभारित सम्पत्ति १.०७ प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ।