काठमाडौँमा मौसमी रुघाखोकीका बिरामी बढे पनि अस्पताल पुग्नेको संख्या सामान्य रहेको चिकित्सक बताउँछन्। छोटो समयमा रुघा दोहोरिने र कतिपयलाई लामो समयसम्म खोकी लागिरहने समस्या देखिने गरेको छ।
काठमाडौँ– वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. प्रज्जवल श्रेष्ठसँग जाँचको लागि बुधबार बिहान एक जना बिरामी आए। ती बिरामीलाई केही दिनयता खोकीले सताएको थियो। खोकीकै कारण कार्यालयको बैठकमा समेत बस्न नसकेपछि जाँच गर्न अस्पताल पुगेका थिए।
डा. श्रेष्ठका अनुसार मौसम परिवर्तनसँगै काठमाडौँमा मौसमी फ्लुको संक्रमण बढेको छ। मौसमी फ्लु निको भएका बिरामीलाई खोकी ठीक हुन लामै समय लाग्ने समस्या देखिएको उनी बताउँछन्। लगातार लाग्ने खोकी निको हुन एक महिनासम्म समय लाग्ने उनको भनाइ छ।
मौसमी फ्लुसँगै छिमेकी देश भारतमा ‘इन्फ्लुएन्जा एचवानएनवान’को संक्रमण धेरै देखिएको डा. श्रेष्ठले बताए। ‘पोस्ट भारइल कफ’को कारण बिरामीलाई लामो समय खोकी लाग्ने भइरहेको छ। यो समस्या नेपालमा पनि देखिन थालेको उनको भनाइ छ।
“प्रायः माघ–फागुनको बीचमा मौसमी रुघाखोकी लाग्छ। चैतसम्ममा यो समस्या हराउँछ,” डा. श्रेष्ठ भन्छन्, “रोग निको भइसक्दा खोकी भने कतिपय अवस्थामा तीन हप्तादेखि एक महिनासम्म पनि निको हुँदैन।” यस्तो लक्षणलाई ‘पोस्ट भाइरल कफ’ अथवा ‘पोस्ट इन्फेटिसियस कफ’ भनिने उनी बताउँछन्।
पोस्ट भाइरल कफ नयाँ समस्या नभएको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। “स्वास्थ क्षेत्रका लागि यो नौलो विषय नभए पनि खास हेक्का नराखिएको विषय भने पक्कै हो,” उनले भने, “लामो समय खोक्दा बिरामी कमजोर हुँदै जान्छ। यस्तो अवस्थामा बिरामीलाई अन्य ब्याक्टेरियाले सजिलै आक्रमण गर्न सक्छ, जसलाई सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन भनिन्छ।”
दीर्घकालीन श्वासप्रश्वासका बिरामी, वृद्ध तथा बालबालिकामा यो समस्या अझ बढी हुने डा. पुन बताउँछन्। अहिले जाँच गर्न आउने धेरैलाई मौसमी फ्लु र खोकीको समस्या रहेको उनको भनाइ छ। “मौसमी फ्लुका बिरामी विगत वर्षको तुलनामा ह्वात्तै बढेको अवस्था होइन, सरदर उस्तै छन्। तर पोस्ट भाइरल कफले दैनिकीमा भने असर पुर्याउँछ,” उनले भने।
आफूसँग सम्पर्कमा आएका मौसमी फ्लुका बिरामी अझै खोकीबाट मुक्त हुन नसकेको डा. पुनले बताए। “आज (बुधबार) बिहानै एक जना बिरामीको फोन आयो,” उनी भन्छन्, “एक महिनाअघि ज्वरोले ग्रस्त भएका ती बिरामी पूर्णतः स्वस्थ भइसकेका थिए, तर यो एक महिनाको अवधिमा खोकी लाग्ने, निको हुने क्रम बारम्बार दोहोरिएको उनको गुनासो थियो।”
मेडिकल न्यूज टुडे नामक स्वास्थसम्बन्धी न्युज पोर्टलमा उल्लेख भएअनुसार, पोस्ट भाइरल कफ तीनदेखि आठ हप्तासम्म पनि लम्बिन सक्छ। यसले स्वास्थमा जटिल समस्या पैदा नगरे पनि मानिसको दैनिकीमा अवरोध गर्छ।
पोस्ट भाइरल कफका लक्षण
घाँटी खसखसाउने, दुख्ने, सुक्खा खोकी लाग्ने, बिहान र साँझ बढी खोकी लाग्ने पोस्ट भाइरल कफका लक्षण भएको डा. श्रेष्ठ बताउँछन्। त्यस्तै, चिसो तथा धुलोको प्रत्यक्ष सम्र्पक हुँदा खोकी बढी लाग्ने र समस्या जटिल हुनसक्ने उनको भनाइ छ। बढी खोकी लाग्दा घाँटी तथा छाती दुख्छ। स्वाँस्वाँ हुने लक्षण भने अधिकांश बिरामीमा नदेखिने उनी बताउँछन्।
८०–९० प्रतिशत बिरामी सामान्य खोकीको औषधिबाट निको हुन्छन्। तर १० देखि २० प्रतिशत, जसलाई दीर्घकालीन श्वासप्रश्वासको समस्या छ, उनीहरूलाई निको हुन धेरै समय लाग्ने डा. श्रेष्ठको भनाइ छ।
कोरोनाको कारण गौण
डा. पुन यस खालको समस्या कोभिड शुरू हुनुभन्दा ३–४ वर्षअघि पनि देखिएको बताउँछन्। त्यसपछि यो वर्ष धेरै देखिएको उनको भनाइ छ। कोभिडअघि देखिएको पोस्ट भाइरल कफ यसपटक देखिनु जटिल विषय नभए पनि चासोको विषय बन्नु पर्ने उनको भनाइ छ।
यद्यपि, डा. श्रेष्ठ कोभिडको बेला पनि यस खालको समस्या देखिएको, तर ध्यान कोभिडतिर भएको बताउँछन्। “गत वर्षको माघ–फागुनमा ओमिक्रोन फैलिएको थियो, जसकारण खोकी चेकजाँचमा पनि कोरोना देखाउँथ्यो। यसपटक फाट्टफुट्ट देखिएको इन्फ्लुएन्जा एचवानएनवान भाइरस र राइनो भाइरस (रुघा लगाउने भाइरस)को कारण लामो समयसम्म देखिएको हो,” उनी भन्छन्, “मौसमी रुघाखोकी नै धेरै छ।”
डा. श्रेष्ठका अनुसार, कोरोनाकालमा निमोनियालगायत श्वासप्रश्वासका बिरामीमा यो समस्या थियो। बिरामी निको हुने समयमा खोकी लम्बिएको थियो। जसलाई ‘पोस्ट कोभिड’ प्रभावको रूपमा हेरिएको थियो।
हेल्थ एट होमका डा. विशाल ढकाल मौसम परिवर्तन र वायु प्रदूषणले पनि बिरामी बढाएको बताउँछन्। कोभिड तथा डेँगीबाट संक्रमित व्यक्तिलाई मौसमी फ्लुको प्रभाव बढी देखिएको उनको भनाइ छ। कोभिड तथा डेँगीकै कारण पनि भाइरसको ट्रेट (स्वभाव)मा परिवर्तन आउँदा खोकीजस्तो श्वासप्रश्वासको रोग निको हुन समय लागेको हुनसक्ने उनको भनाइ छ।
पोस्ट भाइरल कफका बिरामीको यकिन तथ्यांक नभएको डा.ढकालको भनाइ छ। यद्यपि, मौसमी फ्लुका कारण अहिले काठमाडौँमा घरैपिच्छे बिरामी भएका कारण संख्या धेरै हुनसक्ने उनको अनुमान छ।
पोस्ट भाइरल कफबाट आत्तिहाल्नु पर्ने अवस्था नभए पनि यसले अन्य मौसमी रोगजस्तै दुःख दिइरहने डा. पुन बताउँछन्। “सम्बन्धित निकायले यसलाई चासोको विषय बनाएर अध्ययन अनुसन्धान गर्नुपर्छ,” डा. पुन भन्छन्, “सामान्य ठानेर लापरबाही गर्दा नसोचेको घटना निम्तिन सक्छ। स्वास्थ क्षेत्रका जुनै पनि विषयलाई संवेदनशील रूपमा हेरिनुपर्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
