निर्वाचन आयोगले गगन थापालाई फेरि सोध्यो स्पष्टीकरण

आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ।

काठमाडौँ– निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पुनः स्पष्टीकरण सोधेको छ। काठमाडौं-४ बाट प्रतिनिधसभा सदस्यको उम्मेदवार रहेका थापालाई आयोगले दोहोर्‍याएर स्पष्टीकरण सोधेको हो। 

आयोगले कात्तिक ८ गते डेंगीविरुद्ध अभियान किन चलाएको भनी सोधेको थियो। स्पष्टीकरणमा अझै पनि त्यस्तो अभियान चलाउने भन्ने वक्तव्य दिएको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले पुनः स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न भनेको छ।

स्पष्टीकरण पत्रमा भनिएको छ, "निर्वाचनको सम्मुखमा तपाईंले अभियान चलाउछु भनेजस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ/पर्दैन? निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विपद् तथा महामारी आइपरेमा सरकारले आयोगको सहमतिमा कार्यक्रमहरू ल्याउन सक्ने नै व्यवस्था रहेको हुँदा तपाईं किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन गर्न उद्यत हुनुभएको हो? आयोगले यसअघि नै दल तथा सम्बद्ध पक्षलाई ६० बुँदे समेतका निर्देशन दिइसकेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो?"