आठ करोड मतपत्र आवश्यक, समानुपातिकतर्फको छपाएर जिल्ला पुर्‍याइयो

समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र तयार भई केही हिमाली जिल्लाबाहेक देशभर पुर्‍याइसकिएको छ। प्रत्यक्षतर्फ पनि आवश्यक चार करोडमध्ये दुई करोड छापिसकिएको छ।

तस्वीर: उकालो

काठमाडौँ– गएको स्थानीय तह निर्वाचनमा दुई करोड मतपत्र छापेको निर्वाचन आयोगले यसपटक आठ करोड वटा मतपत्र छाप्दैछ।

यसपटक प्रतिनिधिसभा र प्रदेशसभातर्फ नै समानुपातिक तथा प्रत्यक्षतर्फका मतपत्र छाप्नुपर्नेछ। एक जना मतदाताले चार वटा मतपत्रमा स्वस्तिक छाप लगाउनुपर्छ।

समानुपातिकतर्फ चार करोड ५५ लाख मतपत्र तयार भई केही हिमाली जिल्लाबाहेक देशभर लगिसकिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। भौगोलिक कठिनाइका कारण मनाङ, मुस्ताङ, अछाम, दार्चुला र कर्णालीका केही हिमाली जिल्लासमेत आठ जिल्लामा मतपत्र पुग्न बाँकी रहेको उनले बताए।

यता, प्रत्यक्षतर्फ आवश्यक चार करोडमध्ये दुई करोड मतपत्र छापिसकिएको छ। प्रत्यक्षतर्फको मतपत्र छापिसकेर आगामी २० गतेसम्म ढुवानी भइसक्ने आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचनमा मतपत्रको आकार ठूलो भए पनि आउँदो चुनावका लागि भने केही सानो आकार भएको आयोगले जनाएको छ ।

आउँदो निर्वाचनमा देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिसभातर्फ १६५ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ३३० क्षेत्र छन्। आयोगका अनुसार आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्नेछन्।

यसैबीच, आयोगले अन्य निर्वाचन सामग्री ढुवानी पनि थालिसकेको छ। आयोगले जिल्ला पठाउने निर्वाचन सामग्रीलाई प्राथमिकताका साथ पठाउने थालेको जनाएको छ।