'ए' डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा आर्मीले फ्रेन्ड्सलाई पराजित गरेको छ भने पुलिस र एनआरटीले बराबरी खेल्दै अंक बाँडेका छन्।
काठमाडौँ– दीपक गुरुङले इन्जुरी समयमा गोल गरेपछि विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौँ खेलबाट दोस्रो जित निकाल्दा अर्को खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले पहिलो अंक जोडेको छ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबविरुद्ध पुनरागमन २–१ गोल अन्तरले विजयी भएको हो।
च्यासल मैदानमा शनिबार सम्पन्न खेलको छैटौँ मिनेटमा फ्रेन्ड्सका टोरिक जिब्रिनले उपलब्ध गराएको पासलाई रफिक अमिनुले सदुपयोग गर्दै ललितपुरे टोलीलाई अग्रता दिलाएका थिए। अग्रता लिएसँगै रक्षात्मक देखिएको फ्रेन्ड्सविरुद्ध आर्मीले २४ औँ मिनेटमा बराबरी गोल फर्कायो। दीपक गुरुङले उपलब्ध गराएको बललाई जिलेस्पिजंग कार्कीले हेडरमार्फत जाली चुमाउँदा पहिलो हाफ बराबरीमा सकिएको थियो।
दोस्रो हाफमा आर्मीले आक्रामक रणनीतिलाई निरन्तरता दियो। सो क्रममा केही सुनौला अवसर सिर्जना भए पनि आर्मीको अग्रपंक्तिले सदुपयोग गर्न असफल बन्यो। तर, इन्जुरी समयमा दीपक गुरुङले गोल गर्दै आर्मीको जित निश्चित गरेका हुन्। पेनाल्टी बक्सभित्र बारम्बार प्रयास क्लियर हुन नसकेको बललाई दीपकले जाली चुमाउन सफल भएका थिए।
दोस्रो हाफमा आक्रामक देखिएको आर्मीका लागि ७४औँ मिनेटमा दिनेश हेन्जनले प्रहार गरेको फ्रिकिकमा दीपकको हेडरबललाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे। लगत्तै फ्रेन्ड्सले काउन्टरको प्रयास गरे पनि असफल भयो। इन्जुरी समयमा फ्रेन्ड्सका जिब्रिनको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाए।
यसअघि संकटा र एनआरटीसँग बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई पराजित गर्दा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबसँग हार बेहोरेको थियो। यसैगरी, सातादोबाटो र खुमलटारसँग पराजय बेहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो। यस जितसँगै आर्मीले पाँच खेलबाट ८ अंक बनाएको छ भने अन्तिम समयमा सम्हालिन असफल फ्रेन्ड्सको पनि समान खेलबाट ४ अंक भएको छ।
लिगअन्तर्गत शनिबार भएको अर्को खेलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)सँग १–१ गोलको बराबरी खेल्दै जारी लिगमा पहिलो अंक जोड्न सफल भएको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसले पुनरागमन गर्दै अंक खोस्न सफल भएको हो। यसअघि पुलिसले लगातार चार खेलमा हार बेहोरेको थियो।
दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले आक्रामक रणनीति बुन्दै खेलेका थिए। पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बने पनि गोल भने हुन सकेन। दोस्रो हाफमा एनआरटीले शुरूवाती अग्रता लियो। ६४औँ मिनेटमा वैकल्पिक खेलाडी छिरेका सञ्जीव विष्टले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए।
पेनाल्टी क्षेत्रभित्र एनआरटी र पुलिसका डिफेन्डरबीचबाट निस्किएको बललाई पुलिसका गोलकिपर सञ्जीत श्रेष्ठले क्लियर गर्न चुके। तर, ७५ औँ मिनेटमा प्रताप गुरुङले गोल गर्दै पुलिसलाई खेलमा फर्काए। प्रतापले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन्। त्यसबाहेक दुवै टोलीले गोलका लागि प्रयास गरे पनि असफल हुँदै अंक बाँडे। बराबरी पछि पुलिसले लिग तालिकामा १ अंकको खाता खोलेको छ भने एनआरटी ५ खेलमा २ अंक बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
