विश्वकै पहिलो कार चालक महिला

कार्ल बेन्जले विश्वकै पहिलो यात्रा गर्न योग्य कार बनाएका थिए तर मानिसहरूले उक्त कार यात्राका लागि योग्य भएको भन्ने नपत्याएपछि उनकी श्रीमतीले छोराहरूसँग पहिलोपटक कारको यात्रा तय गरेकी थिइन्।

फोर्ड मोडल टी कार विश्वमै पहिलो पटक धेरै संख्यामा उत्पादित सस्तो मूल्यको कार हो तर त्यो विश्वकै पहिलो कार भने थिएन।

त्यसअघि मर्सेडिज–बेन्ज कारका संस्थापक जर्मनीका कार्ल बेन्जले विश्वकै पहिलो यात्रा गर्न योग्य कार बनाइसकेका थिए। सन् १८८८ मा उत्पादित त्यस कारको नाम पेटेन्ट मोटर–वागेन मोडेल तीन हो। यात्रा गर्न योग्य त्यो कार चार पाङ्ग्रे नभई तीन पाङ्ग्रे थियो। जसको पहिलो चालक थिइन् बेर्था बेन्ज।

बेर्था कार्लकी श्रीमती हुन्। कार्लले कार त बनाए तर उक्त कार यात्राका लागि तयार छ भनेर शुरूमा कसैले पत्याएका थिएनन्। तर, १८८८ मै श्रीमती बेर्थाले त्यो कार अनुमति बिना नै १०६ किलोमिटर टाढासम्म चलाएर सबैलाई चकित पारेकी थिइन्। त्यतिबेला कुनै नियामक निकायको अनुमति बिना कार चलाउनु गैरकानूनी थियो।

बेर्थाले आफ्नो श्रीमानले बनाएको कार महत्त्वपूर्ण आविष्कार ठानिन् र 'सफल भए नाम र दाम दुवै हुने लक्ष्यका साथ यात्रा गरेको' भनेकी थिइन्। किनकि, बेन्ज परिवारले कार आविष्कारका लागि ठूलो खर्च गरेको थियो।

बेर्थाले आफ्ना दुई छोरा १३ वर्षीय रिचर्ड र १५ वर्षीय युजेनका साथमा जर्मनीको मानहाइमदेखि फोर्जहाइमसम्मको यात्रा गरेकी थिइन्। बाटोमा यान्त्रिक समस्याका कारण बिग्रिएको कारलाई मर्मत गर्दै उनले यात्रा गरेकी थिइन्।

बाटोमा बिग्रिएको कार मर्मत गर्न उनले अवरुद्ध भएको इन्धनको पाइपलाई आफ्नो टोपी (ह्याट) को क्लिपले सफा गर्ने र कारको इन्जिनलाई कम तापक्रममा राख्न धेरै मात्रामा पानीको प्रयोग गरेकी थिइन्। इन्जिनले धेरै जनाको भार नथेगेपछि उकालो बाटोमा उनका छोराहरूले कारलाई धकेल्नुपरेको थियो।

गन्तव्यमा पुगेपछि मात्रै बेर्थाले टेलिग्राममार्फत श्रीमानलाई आफूहरूले सफलतापूर्वक यात्रा गरेको खबर पठाएकी थिइन्। योसँगै उनी विश्वको पहिलो अटो मोबाइल चालक बन्न सफल भइन्। उनको त्यस यात्रापछि धेरै कुरा बदलियो।

पछि कार्लले कार चलाएको भिडियो सार्वजनिक गर्दै ‘हामी सबैका लागि बाटो खुला गरिदिन’ आग्रह गरेका थिए। उक्त भिडियो मर्सिडिज बेन्ज यूएसएको युट्युबमा पनि हेर्न सकिन्छ।