प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल: पहिलो हुने टोलीलाई ५ हजार डलर

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार डलर पुरस्कार प्राप्त गर्ने भएका छन्।

काठमाडौँ– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्न भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहका अनुसार द्वितीय हुने टोलीले ३ हजार डलर प्राप्त गर्ने छन्। हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५०० डलर दिइने शाहले जानकारी दिए।

एन्फाले प्रतियोगिताको पुरस्कार राशीमा ९ हजार ५०० डलर खर्चिने उनले जानकारी दिए। पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराउने छ। प्रतियोगिताको अनुमानित बजेट एक करोड ७० लाख ७८ हजार रुपैयाँ रहेको शाहले बताए। 

एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले गत वर्ष थ्री नेसन्स कप प्रतियोगिता गर्दाभन्दा अहिले खर्च धेरै बढेको बताए। महँगी बढेको कारण लागत करिब ७० लाख बढेको उनको भनाइ छ। "पहिला पाँच हजारमा आउने बलको मूल्य अहिले कति पुगेको छ तपाईंहरूलाई थाहा नै छ। अहिलेको महँगीअनुसार लागत स्वाभाविक रूपमा बढेको छ," उनले भने।

प्रतियोगितामा नेपालसँगै भुटान र लाओसले भाग लिने छन्। दुवै देशका टिम सोमबार नेपाल आइपुगेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने सिंगल राउन्ड रोबिनको प्रतियोगिता चैत ८ देखि १७ गतेसम्म हुँदैछ। प्रतियोगिताको अंक तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन्। 

पहिलो खेलमा चैत ८ गते आयोजक नेपालले लाओससँग खेल्ने छ। चैत ११ गते भुटान र लाओस भिड्नेछन्। चैत १४ गते नेपाल र भुटानबीच खेल हुनेछ।

नेपालले नवनियुक्त मुख्यप्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ।