अमेरिकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण

प्रहरीले आक्रमणकारी ४२ वर्षीय डेभिड डिपापेविरुद्ध हत्या, घातक हतियार, चोरीलगायतका आरोपमा मुद्दा चलाउने तयारी गरेको छ।

तस्वीर: रोयटर्स

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीका श्रीमान् ८२ वर्षीय पउल पेलोसीलाई एक व्यक्तिले घरभित्रै पसेर आक्रमण गरेका छन्। हतियारधारी ती व्यक्तिले पेलोसीको सान फ्रान्सिस्कोस्थित तीन तले घरभित्रै छिरेर पउलमाथि आक्रमण गरेका हुन्।

आक्रमणकारीले न्यान्सी कहाँ छिन् भन्दै घरभित्र छिरेर पउलमाथि आक्रमण गरेका हुन्। आक्रमणकारीको व्यवहार देखेर पउलले शौचालय जाने बहानामा सुटुक्क अमेरिकी प्रहरीको आकस्मिक सेवा ९११ मा सम्पर्क गरे पनि प्रहरी घटनास्थल पुग्ने बेलासम्म आक्रमणकारीले पउलमाथि ह्यामरले आक्रमण गरेका थिए। आक्रमणका कारण पउलको टाउको र हातमा चोट लागेको छ।

आक्रमणकारीसँग पउलले संघर्ष गरिरहेका बेला प्रहरी घटनास्थलमा पुगेको थियो। आक्रमणकारीले पउललाई बाँधेर राख्ने प्रयास गरिरहेका बेला प्रहरी पुगेको बीबीसीले जनाएको छ। 

गम्भीर अवस्थामा अस्पताल लगिएका पउलको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घटनाका समयमा वासिंटनमा रहेकी पेलोसी श्रीमानलाई भेट्न तत्काल अस्पताल पुगेकी थिइन्।

आक्रमणकारी ४२ वर्षीय डेभिड डिपापेलाई प्रहरीले पक्राउ गरी हत्या प्रयासको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ। साथै, उनीविरुद्ध घातक हतियार, चोरीलगायत अन्य थुप्रै आरोपमा मुद्दा चलाइने तयारी भइरहेको प्रहरीको जनाएको छ।

आक्रमणको कारण भने खुल्न सकेको छैन। घटना नियोजित रहेको प्रहरी प्रमुखको भनाइ छ। पउलमाथि स्थानीय समयानुसार शुक्रबार बिहान साढे २ बजे आक्रमण भएको सान फ्रान्सिस्को प्रहरी प्रमुख विलियम स्कटले बताए।