कालिकोटमा सकेट बम पड्किँदा दुई बालिकाको ज्यान गयो, तीन घाइते

कालिकोटको तिलगुफामा सकेट बम पड्किँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

काठमाडौँ- कालिकोटको तिलागुफा नगरपालिका– १० रानावाडामा विस्फोटक पदार्थ पड्किँदा दुई बालिकाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

विस्फोटक पदार्थ पड्केर ३ वर्षीय झरना थापाको घटनास्थलमा र ४ वर्षीय सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

बाँकी ३ जना बालिकाको प्रादेशिक अस्पताल सुर्खेतमा हेलिकप्टर मार्फत् उद्धार गरेर उपचार भइरहेको छ । “बालबालिकाहरू कोदो बारीमा खेल्न जाने क्रममा अनौठो चिज देखेर ढुंगाले हानेछन् । त्यसपछि पड्केर घाइते भए”, उनले भने, “तत्काल प्रहरी पुगेर हेर्दा शुरूमा के पड्क्यो भन्ने भयो पछि सानो फलामको टुक्रा देखेपछि सकेट बम पड्केको पत्ता लागेको हो ।”

शर्माका अनुसार घटनाको विषयमा अनुसन्धान जारी छ। घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ। “पुरानो सकेट बम हो वा नयाँ हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ,” प्रजिअ शर्माले भने,“अनुसन्धान भइसकेपछि यसबारे यथार्थ जानकारी आउला ।” 

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षीय मुस्कान थापा, ३ वर्षीय सपना थापा गम्भीर घाइते भएका छन्