संवैधानिक आयोगहरू जागिर खाने थलो होइनन् : राष्ट्रियसभा अध्यक्ष

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ सचेत गराएका छन्।

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरूका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरूले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे। 

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरूलाई जागिर खाने थलोको रूपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए। 

उनले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरूलाई आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले भने, “आयोगहरूलाई चाहिने न्यूनतम स्रोत, साधन उपलब्ध गराउन सरकारले कन्जुस्याइँ गर्न हुँदैन। त्यो उपलब्ध गराउनु पर्छ। र, आयोगहरूले पनि आफ्नो सृजनात्मक, रचनात्मक क्षमताका साथ दिएको जिम्मेवारीहरू, परिभाषित कामहरूलाई कुशलतापूर्वक पूरा गर्न जति तपाईंहरू रचनात्मक हिसाबले लाग्नु हुन्छ। त्यसको औचित्य त्यति नै पुष्टि हुन्छ। सबै आयोगहरूका लागि त्यही नै हो। र, खासगरी मुस्लिम आयोगको कुरा गरिरहँदा मुस्लिम समुदाय जो हाम्रो देशमा जहाँजहाँ रहनु भएको छ। ती बस्तीहरूमा म के आग्रह गर्छु भने कि आयोग आयोगका लागि होइन। आयोग जागिर खाने थलो बनाउनका लागि कुन बेला कुन हुन्छ? र, म त्यहाँ पावरमा जान्छु भन्नका लागि होइन।”

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरू अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्षभित्रै त्यसको आवश्यकता नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए। उनले आयोगका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए। 

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर  मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वर्द्धन गर्न आयोग प्रतिबद्ध रहेको बताए। उनले सबै संवैधानिक आयोगहरूसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबी समेत गरे।

अध्यक्ष मगरले भने, “अब जहाँसम्म मानव अधिकार आयोग छ। राष्ट्रिय मानव अधिकार आयोग नागरिकहरूका हक, अधिकार संरक्षण र सम्वर्द्धन गर्ने कुरामा सदैव सजग छ। लागि रहेको अवस्था पनि छ।”

अध्यक्ष मगरले मानव अधिकारको संरक्षणका लागि सबै संवैधानिक आयोगसँग मिलेर काम भइरहेको पनि स्मरण गराए।