जापानका प्रधानमन्त्री फुमियो किशिदा भारतको औपचारिक भ्रमण सकेलगत्तै युक्रेनको राजधानी किभ पुगेका छन्।
जापानका प्रधानमन्त्री फुमियो किशिदा मंगलबार युक्रेनको आकस्मिक भ्रमणमा निस्किएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेट भएको भोलिपल्ट किशिदा किभका लागि निस्किएको जापानी मिडिया एनएचकेले जनाएको छ। जी सेभेनको सदस्य राष्ट्रको कुनै एशियाली र अमेरिकी मित्रराष्ट्रका शीर्ष नेता युक्रेन गएको यो पहिलो पटक हो।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको आकस्मिक भ्रमण गरेका थिए। साथै, दोस्रो विश्व युद्धपछि युक्रेन र त्यस क्षेत्रको भ्रमणमा जाने किशिदा पहिलो जापानी प्रधानमन्त्री भएको सीएनएनले उल्लेख गरेको छ। भ्रमणका क्रममा किशिदाले 'युक्रेनलाई जापानको अविच्छिन्न साथ र ऐक्यबद्धता रहेको कुरा प्रष्ट रूपमा राख्ने' र 'युक्रेनविरुद्ध रुसी आक्रोशको विरोध गर्ने' उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि किशिदाले छिमेकी मुलुक युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध खुलेर विरोध जनाएका थिए। उनले 'आजको युक्रेन भोलि पूर्वी एशिया हुनसक्छ' भन्दै चेतावनीसमेत दिएका थिए। युक्रेनमा रुसी आक्रमणको एक वर्ष पूरा भएको दिन फेब्रुअरी २४ मा जापानले युक्रेनमा मानवीय सहायताका लागि साढे पाँच अर्ब डलर आर्थिक सहयोगको प्रतिबद्धता गरेको थियो।
त्यतिबेला जापानी प्रधानमन्त्री किशिदाले भनेका थिए, “युक्रेनविरुद्धको रुसी आक्रोश युरोपेली मामिला मात्र नभई समग्र अन्तर्राष्ट्रिय समुदायको सिद्धान्त र नियममाथिको चुनौती हो।”
यसअघि किशिदाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। दुईदिने भारत भ्रमणका क्रममा किशिदाले यस क्षेत्रमा चीनको प्रभाव रोक्न ७५ अर्ब अमेरिकी डलरको नयाँ इन्डो प्यासिफिक योजनाको घोषणासमेत गरे। इन्डो प्यासिफिक क्षेत्रलाई स्वतन्त्र र खुला रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।
टोकियोको नेतृत्वमा हुने बृहत् सुरक्षा र आर्थिक साझेदारी यस क्षेत्रमा बेइजिङको बढ्दो दबाब रोक्नेतर्फ केन्द्रित रहेको बताइएको छ। नयाँ योजनाअन्तर्गत जापानले उदीयमान अर्थतन्त्रलाई सहयोग गर्ने, सामुद्रिक सुरक्षा, तटीय क्षेत्रमा गस्तीका लागि डुंगाहरू परिचालन गर्ने प्रावधान र संरचना निर्माणलगायत छन्। हालैको योजना गत डिसेम्बरमा जापानले अंगालेको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिसँग मेल खान्छ।
त्यस रणनीतिअन्तर्गत जापानले सम्भावित आक्रमणको प्रतिकारको क्षमता बिस्तारका लागि लामो दूरीका क्रुज क्षेप्यास्त्र तैनाथ गर्ने र समान धारणा राख्ने मुलुकसँग विकास सहयोगलाई रणनीतिक ढंगले अघि बढाउने थियो। किशिदाले भारतीय समकक्षी मोदीलाई आगामी मेमा हुने जी सेभेनको सम्मेलनमा सहभागिताका लागि निम्तोसमेत दिएका छन्। युक्रेन भ्रमणपछि किशिदा बिहीबार मात्रै स्वदेश फर्कने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
