भृकुटीमण्डपमा उम्मेदवार मेला हुँदै, उम्मेदवारलाई भेट्न पाइने

भृकुटीमण्डपमा नेपालमै पहिलोपटक उम्मेदवार मेला हुने भएको छ। मेलामा उपत्यकाभरिका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार उपस्थित रहने आयोजकको अपेक्षा छ।

काठमाडौँ- नेपालमा पहिलोपटक उम्मेदवार मेला हुने भएको छ। 

भूगोल पार्क उम्मेदवार मेला नाम दिइएको उक्त मेलामा काठमाडौँ उपत्यकाका उम्मेदवारहरूको उपस्थिति रहने अपेक्षा आयोजक भूगोल पार्कको छ। 

मेला कात्तिक कार्तिक १६ गते बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ भृकुटीमण्डपमा  सञ्चालन हुने आयोजकले जनाएको छ। 

उम्मेदवार मेलामा मंसिर ४ गते हुने संघीय निर्वाचनमा उम्मेदवार रहने दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहने अपेक्षा गरिएको भूगोल पार्कले जनाएको छ। सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहने छ। 

मेलामा निष्पक्षरूपमा उम्मेदवारहरूको अभियान, प्रत्यक्ष अन्तरक्रिया, प्रेस सम्मेलन, तत्काल बहस र नेटवर्किङको लागि विशेष टेन्ट क्यानोपीहरू हुनेछन्। उम्मेदवारहरूका लागि ‘पहिले आउने पहिलो सेवा’का आधारमा करिब २५ वटा क्यानोपी राखिएको आयोजक संस्थाले जनाएको छ। 
 

काठमाडौँ उपत्यकामा संघीय निर्वाचनमा ३६० जना उम्मेदवारहरू छन् ।

भूगोल पार्क उम्मेदवार मेलाले मतदातालाई आफ्नो निर्वाचन क्षेत्रका उम्मेदवारको प्रत्यक्ष मूल्यांकन गर्ने अवसर प्रदान गरी लोकतन्त्रलाई सुदृढ बनाउने आयोजकको दाबी छ। उम्मेदवारहरूले एउटै स्थानमा हजारौँ मतदाताहरूसँग प्रत्यक्ष रूपमा आफ्नो विचार र स्थिति प्रस्तुत गर्ने मौका पाउनेछन्। 

थप जानकारीको लागि भूगोल पार्कको इमेल ठेगाना Email@BhugolPark.com मा सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन्।