दार्चुला घटनाबारे ओलीले मागे प्रधानमन्त्रीको जवाफ

ओलीले गत वर्ष तुइन काटेर जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न पनि गरेका छन्।

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार दार्चुलामा भएको घटनामा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन्। शनिबार सामाजिक सञ्जालमा धारणा राख्दै उनले नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी बनाएको बताएका छन्।

उनले गतवर्ष तुइन काटेर जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म भन्दै प्रश्न पनि गरेका छन्। “घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,” उनले भनेका छन्।

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो। अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो।