हेटौँडामा सडक विस्तारका लागि ५३१ संरचना हटाउन डोजर चलाउने तयारी

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ घरटहरा तथा संरचना भत्काउनुपर्ने छ।

हेटौँडा– बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्न मंसिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काउने तयारी गरिएको छ।

सडक सीमाभित्र पर्ने स्थायी र अस्थायी घरटहरा लगायतका संरचना हटाउन मंसिर ५ गते सार्वजनिक सूचना जारी गरे पनि स्थानीयले चासो नदेखाएपछि सडक डिभिजन कार्यालय हेटौँडाले आफैँ मंसिर २० गतेदेखि संरचना भत्काउने तयारी गरेको हो।

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ घरटहरा तथा संरचना भत्काउनुपर्ने छ।

पहिलो चरणमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १५ रातोमाटेदेखि हेटौँडा बुद्ध चौक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्ध चौकदेखि सामरी पुलसम्मको सडक सीमा खाली गरिने सडक प्रमुख अधिकारीले जानकारी दिए।

पटक पटक रोकिँदै आएको सडक विस्तारको काम यसपटक अगाडि बढाइने र करिब साढे नौ किलोमिटर सडक क्षेत्रभित्र रहेका नेपाल बैंक, हिमालयन बैंक र तीन वटा पेट्रोल पम्पसहितका भौतिक संरचना हटाउनुपर्ने उनले बताए।

विस्तार हुने सडक सीमाक्षेत्र पर्ने तीनवटै पेट्रोल पम्पलाई अन्य स्थानमा स्थानान्तर नभएसम्मका लागि पेट्रोलियम पदार्थ उपलब्ध नगराउन सडक डिभिजन कार्यालय हेटौँडाले नेपाल आयल निगमलाई पत्राचार गरिसकेको छ। मुख्य सडकको दायाँबायाँ दुवैतर्फको संरचना हटाउन पटकपटक सूचना जारी गरेपछि पनि स्थानीयले अटेर गरेपछि स्थानीय प्रशासनले त्यस्ता संरचना हटाएर सडक विस्तारको काम अघि बढाउन पहल थालेको हो।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा विशेष ‘टास्क फोर्स’ गठन गरिएको छ, जसले सडक विस्तारको काम अघि बढाएको छ। इञ्जिनियर तथा सडक डिभिजन कार्यालय हेटौँडाका सूचना अधिकारी यादव सुवेदीको संयोजकत्वमा गठित उक्त टास्क फोर्सले पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत सडक सीमा अतिक्रमण गरी बनेका स्थायी तथा अस्थायी संरचनाको नाप नक्सा र रेखांकन गरी रङ लगाउने काम गरिरहेको छ।

“हामीले पाएको जिम्मेवारीअनुसार काम शुरू गरिसकेका छौँ,” उनले भने, “पहिलो चरणमा हामीले संरचना हटाउन माइकिङ गर्ने, सडकको दुवैतिर नाप र रेखाङ्कनको काम अघि बढाइसकेका छौँ।” काममा कुनै समस्या नहोस् भन्नका लागि टिममा अन्य सरोकारवाला निकायका प्रतिनिधिलाई पनि राखेर अघि बढिएको उनको भनाइ छ।

गठित विशेष टास्क फोर्स समितिमा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरण लगायतका सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन्।

टास्क फोर्सले हेटौँडा सडक विस्तारका लागि एसियाली विकास बैंक (एडिबी) बाट स्रोत सुनिश्चित भइसकेकाले सडक विस्तारको कामलाई तीव्र रुपमा अघि बढाइने प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए।

उनले सडक विस्तारका क्रममा विद्युत् खानेपानी, टेलिफोन लगायतका अत्यावश्यक सेवा अवरोध नहुने गरी सरोकारवाला निकायसँग निरन्तर समन्वय गरी काम अघि बढाउने तयारी भएको बताए।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरिसकेको छ।

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गर्ने जनाएको छ।