मुस्ताङका ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट भुवाको ८०० नमुना संकलन गरेर परीक्षण गर्ने तयारी छ।
म्याग्दी– पस्मिनाको कच्चापदार्थ च्यांग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञको टोली मुस्ताङ पुगेको छ।
अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको नेपाल पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र, नेपाल पस्मिना संघ र च्यांग्रा पस्मिना किसान संघको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गर्न लागिएको अन्तर्राष्ट्रिय व्यापार केन्द्रले जनाएको छ।
अन्तर्राष्ट्रिय पस्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक निना अमात्य गोर्खाली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशीसहितको टोली मुस्ताङ पुगेको नेपाल पस्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए।
“ल्होमन्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्यांग्रा भुवाको ८०० नमुना संकलन गर्दैछौँ,” उनले भने, “चारवटै पालिकाका १६० किसानले पालेका फरक भूगोल, तौल, रङ र उमेर समूहका पाँच/पाँचवटा च्यांग्राको शरीरबाट नमुना भुवा निकालिनेछ।”
नमुनालाई पस्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यावसायिक गुणस्तर परीक्षणका लागि पठाइने अन्तर्राष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताए।
“पस्मिनाको गुणस्तरले यसको महत्त्व तथा बजार मूल्यमा असर गर्दछ,” उनले भने, “अन्य मुलुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पस्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान छ। जसबाट गुणस्तरीय च्यांग्राको नस्ल विकास, अनुसन्धान र भुवाको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ।”
भुवाको नमुना संकलनमा खटिने आठजना किसानलाई तालिम दिइने छ। तालिम लिएका किसान र विज्ञ टोलीले चैत १४ देखि २२ गतेसम्म च्यांग्राको शरीरबाट परीक्षण गर्नका लागि भुवा कात्नेछन्।
नार्कअन्तर्गतको राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख निना अमात्य गोर्खालीले मुस्ताङमा पहिलो पटक गरिने नमुना संकलनबाट पस्मिनाको गुणस्तर पत्ता लाग्ने बताइन्।
“च्यांग्राको पस्मिना राम्रो छ भन्ने गरिन्छ। तर गुणस्तरका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो,” उनले भनिन्, “यसैमा आधारित भएर नस्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्छ।”
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले भुवा संकलन अभियानलाई सफल बनाउन सहयोग रहने बताए। किसानको आयआर्जनलाई वृद्धि गर्नसमेत यो महत्त्वपूर्ण रहेको गुरुङको भनाइ छ।
प्राकृतिक रूपमा विरलै उत्पादन हुने च्यांग्राको भुवाबाट मात्रै सानो परिमाणमा उत्पादन गरिने पस्मिनाको व्यवसायिक माग बढ्दो छ। राम्रो गुणस्तरको च्यांग्रा पस्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्यांग्रापालक किसानले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ।
नेपालबाट विदेश निर्यात हुने प्रमुख वस्तु पस्मिना बनाउन च्यांग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ।
नेपाल पस्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँको पस्मिना निर्यात हुन्छ। १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ।
विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका किसानबाट पछिल्लो दुई वर्षयता च्यांग्राको भुवा खरिद गर्न थालिएको पस्मिना उद्योगी भीम शेरचनले बताए।
बजारको सुनिश्चितता नभएकाले मुस्ताङका किसानले यसअघि ऊन निकाल्ने गरेका थिएनन्। शरीरबाटै झरेर खेर जाने गरेको थियो। ३० प्रतिशत हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो।
नेपाल फाइवर प्रोसेसिङ उद्योगले ल्होमन्थाङमा भुवा संकलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ। वैशाख–जेठ महिना च्यांग्राको शरीरबाट भुवा निकाल्ने याम हो। भुवा निकाल्ने सीप र नयाँ प्रविधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ।
च्यांग्राको भुवा पस्मिनाका लागि (क) श्रेणीको कच्चापदार्थ हो। भेडा र चौँरीको तुलनामा च्यांग्राको भुवालाई गुणस्तरीय मानिएको छ। मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका किसानले व्यावसायिक च्यांग्रापालन गरेका छन्।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्यांग्रा पालिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
