संघीयता देशका लागि घाँडो भयो : रवीन्द्र मिश्र

मिश्रले मंसिर ४ को निर्वाचनमा काठमाडौँ-१ बाट चुनिएर संसद् छिरेको अवस्थामा सांसद विकास कोषबाट बाँडिने रकम नलिने घोषणा गरेका छन्।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता देशका लागि घाँडो भएको बताएका छन्। नयाँ बानेश्वरस्थित बानेश्वर व्याङ्क्वेटमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले संघीयता आर्थिक, राजनीतिक, भू-राजनीतिक र अखण्डतालाई घाँडो भएको बताएका हुन्।

“२०६२/०६३ को जनआन्दोलनपछि मधेश प्रदेशबाहेक अन्यले छुट्टै प्रदेशको माग नै थिएन, धर्मनिरपेक्षता कसले मागेको थियो? तैपनि देशैभरि लादियो," उनले भने, “अहिले त आत्मनिर्णयको संघीयता माग्छ।”

मिश्रले माओवादी सशस्त्र आन्दोलनताका पृथ्वीनारायण शाहको शालिक ढाल्ने व्यक्ति नै गोरखा गएर भोट मागेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'प्रति कटाक्ष गरे।

मिश्रले मंसिर ४ को निर्वाचनमा काठमाडौँ-१ बाट चुनिएर संसद् छिरेको अवस्थामा सांसद विकास कोषबाट बाँडिने रकम नलिने घोषणा गरे। उनले कोषबाट निकास हुने रकम घुमाउरो रूपमा भ्रष्टाचार हुने गरेको समेत बताए।

“सांसदले विभिन्न ठाउँमा पैसा वितरण गर्छन्, र अर्को चुनावमा पनि भोट माग्ने आधार बनाउँछन्,” उनले भने, “सांसदलाई ठेकेदार बनाउँछ त्यो कोषले। त्यसैले हामी त्यो सांसद विकास कोष लिँदैनौँ।”

त्यस्तै, १५ वर्ष सांसद भएका मानिसलाई नै सांसदको कामकारबाहीबारे जानकारी नभएको भन्दै उनले आफ्ना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहप्रति व्यङ्ग्य गरे। “उहाँ (प्रकाशमान) त काठमाडौँ महानगरपालिकाको मेयर वा वडाध्यक्ष हुनुपर्ने मान्छे,” श्रेष्ठको घोषणापत्रका केही बुँदासमेत पढेर सुनाउँदै उनले भने, “सांसदसँग कार्यकारी अधिकार छैन, विधायिकी अधिकार मात्रै छ। तर, २५ वर्षअघि मन्त्री भएका, १५ वर्ष सांसद भएका मानिसलाई नै सांसदले गर्ने कामकारबाहीको जानकारी रहेनछ।”

राप्रपाका तर्फबाट उम्मेदवार बनेका मिश्रले आफू निर्वाचित भएको खण्डमा सार्वजनिक शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सबैले गुणस्तीय र निःशुल्क हुनुपर्नेमा पहल गर्नेसमेत दाबी गरे। त्यसका लागि विदेशीको पैसा ताक्न नपर्ने उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने वा प्रशासन सुधारको प्रतिवेदन कार्यान्वयन गर्न सक्ने उनले बताए। 

घोषणापत्रसँगै ‘विचारभन्दा माथि देश’ बाँड्दै रवीन्द्र मिश्र