पत्रकारको सुरक्षाका लागि ‘पत्रकारिता विकास कोष’ स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री दाहालले सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार र सञ्चारमाध्यमको सुरक्षाका लागि ‘पत्रकारिता विकास कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।

बिहीबार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका हुन्।

पत्रकारहरूको स्वास्थ्य, दुर्घटना, हुलदंगा एवं आतंकको बिमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि सरकार गम्भीर रहेको बताएका हुन्।

“सरकारले आम सञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोबास गर्ने जनसंख्याप्रति लक्षित गरी गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ,” प्रधानमन्त्री दाहालले भने, “सञ्चारकर्मीको सीप तथा दक्षता अभिवृद्धि गर्न संघ र प्रदेशमा आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने योजना छ।”

संविधानले रेडियो सञ्चालन एवं नियमनको जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरेको भए पनि एकल र साझा अधिकार सूचिको प्रभावकारी कार्यान्वयनका निम्ति नीतिगत र कानूनी प्रावधान पर्याप्त नभएको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रता र सबलीकरणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।