विख्यात साहित्यकार मिलान कुन्देरा सुन्दर वा 'स्वर्ग'को सपना मनुष्यको सबैभन्दा पुरानो सपना हो भन्छन्। यसका निम्ति स्रष्टा मात्र होइन, यस्तो सपना देख्ने सबैले आफ्नो आलोचनात्मक विवेकलाई समृद्ध गर्नैपर्छ।
साहित्यमा आलोचनात्मक विवेकको प्रयोग धेरै पहिलेदेखि गरिँदै आइएको छ। लोकसाहित्यमा पनि यसलाई नियाल्न सकिन्छ। लिखित साहित्य त लिपिको आविष्कारपछि मात्र अस्तित्वमा आएको हो। लिपिभन्दा धेरै पहिलेदेखि भाषा अस्तित्वमा थियो र मानिसले आफूलाई लागेको र चित्त नबुझेको कुरा मौखिक रूपमा माझिएको भाषामा व्यक्त गर्ने कोशिश गर्थ्यो। समाज त्यसबाट प्रभावित हुन्थ्यो। गीत, कथा, कविता आदिका माध्यमबाट उसका भोगाइ, बुझाइ, अनुभूति र विचारहरू बाहिर आउँथे। समाज एवं जीवनलाई बदल्न तिनले भूमिका सम्पादन गर्थे।
साहित्यले लिखित रूप ग्रहण गरेपछि स्रष्टाले आफ्नो आलोचनात्मक विवेकलाई अझ व्यवस्थित र कलात्मक रूपमा अभिव्यक्ति दिन थाल्यो। साहित्यको सामाजिक एवं परिवर्तनकारी भूमिकालाई यसैसँग जोडेर हेरिन्छ। साहित्यको सौन्दर्यपरक भूमिका पनि यसैसँगै गाँसिएको छ। साहित्यको सौन्दर्यलाई यसको सामाजिक चरित्र र परिवर्तनकारी भूमिकासँग अलग गरेर हेर्न सकिन्न।
आलोचनात्मक विवेकलाई मनुष्यको अघिल्तिरको यात्राको महत्त्वपूर्ण कारक मानिन्छ। अँध्यारो अतीत र कष्टपूर्ण वर्तमान एवं जीवनका विरोधाभास तथा कमजोरीहरू प्रति मनुष्य आलोचनात्मक हुँदैनथ्यो भने उसको अघिल्तिरको यात्रा पनि सम्भव हुँदैनथ्यो। पूर्व होस् वा पश्चिम, यसले नै मनुष्यलाई अँध्यारोविरुद्ध संघर्ष गर्न, सत्यका पक्षमा उभिन, स्वतन्त्रता, समानता र सामाजिक न्यायका पक्षमा गीत गाउन प्रेरित गर्दै आएको छ।
तथ्य, तर्क र वैज्ञानिक दृष्टिकोणलाई मनुष्यले प्रदान गरेको महत्त्वका पछि आलोचनात्मक विवेक नै रहेको छ। समाजका समग्र पक्षहरूको रूपान्तरणका निम्ति यसले निर्वाह गरेको भूमिका ऐतिहासिक रहेको पाइन्छ। जीवन र जगत्का समग्र पक्षहरूप्रति आलोचनात्मक दृष्टि राख्नु र तिनका अँध्यारा पक्ष एवं सीमाहरूलाई उधिन्दै बाटो र विकल्प प्रस्तुत गर्नु यसको विशेषता हो। यो तर्क, तथ्य, वैज्ञानिक दृष्टिकोण र संघर्ष चेतनाबाट डोरिन एवं अराजकता, दिशाहीनता, अन्योल र द्विविधाबाट भने जोगिन सक्नुपर्छ। यसको इतिहासमा प्रत्ययवाद, अतार्किकता, अराजकता मात्र पाइन्न, उपयुक्त बाटो र विकल्पको अभाव पनि पाइन्छ। साहित्यमा आलोचनात्मक विवेकका यी दुवै रूप विद्यमान रहँदै आएका छन्।
प्रत्ययवादको जगमा उभिएको आलोचनात्मक विवेकले पनि इतिहासका विभिन्न कालखण्डमा महत्त्वपूर्ण भूमिका सम्पादन गरेको छ। ज्ञानोदयकालीन कैयौँ स्रष्टाहरू यसका उदाहरण हुन्। साहित्यमा मात्र होइन, ज्ञानका सबै क्षेत्रहरूमा आलोचनात्मक विवेकको प्रत्ययवादी धाराका कैयौँ विचारक, चिन्तक एवं लेखकहरूले आफ्नो समयमाथि युगान्तकारी हस्तक्षेप गरेका छन्। आलोचनात्मक विवेकको युगजन्य सीमा रहेको छ, तर पनि यसले समाजलाई अघिल्तिर डोर्याउन ठूलो भूमिका सम्पादन गरेको छ।
आज आलोचनात्मक विवेकको अझ बढी खाँचो छ। हामी यसमा निरन्तर ह्रास आउँदै गरेको डरलाग्दो समयमा छौँ। एकातिर आलोचनाको ठूलो अंश अराजकता, अतार्किकता, अन्योल र गन्तव्यहीनताको सिकार छ अर्कातिर मनुष्य आलोचनात्मक विवेक शून्य हुँदै जाँदो छ। उसको आँखामा धन, उपभोग, सुविधा र विलासको रंङिन संसार छ।
यसको प्राप्तिका निम्ति ऊ आफ्नो आलोचनात्मक विवेकविरुद्ध उभिन पनि तयार छ र आफ्नो गरिमा, सौन्दर्य र अस्तित्व नष्ट हुँदै गरेको उसलाई हेक्का नै छैन। चेतनाको भ्रष्टीकरण आजको दुखद यथार्थ हो। आलोचनात्मक विवेकको क्षय सत्ता र सत्तारुढ वर्गका निम्ति सधैँ सुखद रहँदै आएको छ। असमानता, अन्याय र स्वार्थका जगमा उभिएका सबै प्रणालीहरू यसको क्षय चाहन्छन्। यसका निम्ति उनीहरू योजनाबद्ध रूपमै काम गर्छन्।
आज वैश्विक रूपमै मनुष्यलाई खन्चुवा, रामरमिताप्रेमी, व्यक्तिवादी र असामाजिक बनाइँदै छ। समाचार प्रविधि यसका निम्ति अत्यन्त उपयोगी बनेको छ। हामी अनन्त कामनाको संसारमा छौँ र हाम्रा अगाडिको संसारलाई लीलामय बनाइएको छ। आउँदा दिनहरूमा यस प्रयासलाई अझ सघन बनाइनेछ। पुँजी र सत्ताका निम्ति आलोचनात्मक विवेकरहित मनुष्य चाहिन्छ। आजको साहित्यमा यस यथार्थले आलोचनात्मक विवेकसहित अझ सशक्त अभिव्यक्ति पाउनुपर्छ। आलोचनात्मक विवेकको अभिव्यक्तिलाई अझ धारिलो बनाउनुपर्ने समयमा हामी छौँ।
आलोचनात्मक विवेक र कलात्मक मूल्यले सरोवर रचनाहरूले नै अँध्यारोमाथि सशक्त हस्तक्षेप गर्न सक्छन्। यस्ता रचनाहरू नै सुन्दर मानिन्छन्। यस्तै साहित्यले समाजको परिवर्तनका निम्ति महत्त्वपूर्ण भूमिका सम्पादन गरेको छ। मनुष्यको परिष्कारका निम्ति पनि यस्तै रचनाहरूले प्रभावकारी भूमिका सम्पादन गर्दै आएका छन्।
पोल्यान्डका अंवागार्द लेखक तथा अभियन्ता जोजेफ सेबकोव्स्की कलात्मक कारबाही ठूलो परिवर्तनका निम्ति आधार बन्न सक्ने बताउँछन्। कलात्मक कारबाहीको तात्पर्य साहित्य, कलासँग सम्बन्धित रचनाहरूले सम्पादन गर्ने परिवर्तनकारी भूमिका हो। कलात्मक एवं आलोचनात्मक चेतनाले सम्पन्न, जीवन र जगत्का अँध्यारा उज्याला पक्षहरूको सजीव अभिव्यक्ति दिएका रचनाहरूले समाजको परिवर्तनका निम्ति खेलेको भूमिका अद्वितीय छ।
मार्क्सवादीहरूले कलात्मक कारबाहीलाई सधैँ महत्त्व दिँदै आएका छन्। साहित्यले समाजको परिवर्तनका निम्ति निर्वाह गर्ने भूमिकाकै कारण उनीहरू यसलाई कलात्मक हतियारका रूपमा उल्लेख गर्न रुचाउँछन्। साहित्यले समाजको परिवर्तनमा कसरी योगदान दिन्छ भनेर हेर्न टाढा जानुपर्दैन, नेपाललाई हेरे पुग्छ।
नेपाली स्रष्टा र साहित्यले नेपाली समाजको परिवर्तनमा दिएको योगदान महत्त्वपूर्ण छ। नेपाली समाजमा जागरण ल्याउन र त्यसलाई अघिल्तिर डोर्याउन लोकभाकामा गीत गाएर हिँड्ने गाउँघरका स्रष्टादेखि अन्य साहित्यकार एवं साहित्यिक रचनाहरूले विशिष्ट भूमिका निर्वाह गरेका छन्। साहित्यको यो भूमिका समाजको परिवर्तनदेखि मनुष्यको आन्तरिक परिष्कारसम्म फैलिएको छ।
कैयौँ स्रष्टाहरू साहित्यले सम्पादन गर्ने समाज रूपान्तरणको भूमिकाप्रति आशंका व्यक्त गर्छन्। कैयौँले त यसलाई ठाडै अस्वीकार पनि गर्छन्। स्रष्टाहरूको भूमिका रहन सक्छ, साहित्यको होइन भन्नेहरूको संख्या पनि कम छैन। अभिव्यञ्जनावादी, कलावादी, आनन्दवादी, रूपवादीहरूबाट यस्तो दृष्टिकोण व्यक्त हुनु स्वाभाविक छ। साहित्यको समाजपरक भूमिकालाई अस्वीकार गर्ने र आलोचनात्मक दृष्टिलाई महत्त्व नदिने विचार हो यो। साहित्यसम्बन्धी यस्तो दृष्टिकोण न यथार्थसम्मत छ, न त उपयुक्त नै। साहित्यिक रचनाहरू आलोचनात्मक विवेकसहित यथार्थको कलात्मक प्रकटीकरणका कारण उच्च रहेका छन्।
आफ्ना सीमाहरूका अतिरिक्त, बाल्जाक, लियोटाल्सटोय, दोस्तोएभस्की, चेखब, इब्सेन, देवकोटा आदिका कतिपय कृतिहरू उच्च हुनुको कारण यही हो। जीवन र जगत्का गम्भीर समस्याहरूप्रति सरोकार नराख्ने रचनाहरूलाई शिल्पले जतिसुकै सजाए पनि तिनमा ज्यान हुन्न। तिनले हाम्रो हृदयलाई स्पर्श गर्दैनन्। त्यस्ता सिर्जना र चिन्तनको पैरवीका पछि साहित्य कलासम्बन्धी अनुपयुक्त दृष्टिकोणले काम गरेको छ।
साहित्यले अँध्यारोमा प्रकाशको काम गर्नुपर्छ। समस्त उत्पीडनविरुद्ध संघर्ष गर्न दृष्टि र प्रेरणा प्रदान गर्नुपर्छ। गलत दृष्टिकोण, सत्ता, पद, प्रतिष्ठा र वैभवको लालसाका कारण यसको भूमिका बरालिएको मात्र छैन, परिवर्तन, मानवता, मानवीय संवेदना र विवेकविरुद्ध पनि उभिएको छ। साहित्यलाई जनविरोधी सत्ता र सत्तारूढ वर्गको स्वार्थहरूको रक्षा र पूर्तिको साधन पनि बनाउँदै आइएको छ। साहित्यलाई परिवर्तनका निम्ति चलेका आन्दोलनहरू दबाउन पनि प्रयोग गरिएको छ। मनुष्यको आन्तरिक जगत्लाई विकृत गर्ने र उसलाई जीवन एवं समाजदेखि विरत तुल्याउने भूमिका निर्वाह पनि साहित्यबाट भएको छ। यस्तो दृष्टिकोण र प्रवृत्तिको प्रतिनिधित्व गर्ने साहित्यको धारा आज पनि जीवित छ। मनुष्यको आलोचनात्मक विवेकलाई नष्ट गर्न यस्तो साहित्यले ठूलो भूमिका निर्वाह गरेको छ।
साहित्य अनुभूति, संवेदना, कल्पना, विचार एवं यथार्थको कलात्मक प्रकटीकरण हो। साहित्य विचाररहित हुन्न। साहित्यमा विचार अनुभूति, संवेदना, संस्कार, कल्पना, भावना आदिसँग एकीकृत भएर आउँछ र कलात्मक रूपमा प्रकट हुन्छ। विचार साहित्य होइन तर विचारबिनाको साहित्य पनि हुन्न। जीवन, जगत्, ब्रह्माण्ड, समाज, राज्य, सत्ता, शासनप्रणाली, सरकार, शासक, सुख–दुःख, आँसु–हाँसो, न्याय–अन्याय आदिका बारेमा स्रष्टाको आफ्नो दृष्टिकोण हुन्छ। स्रष्टा परिष्कृत अपरिष्कृत जस्तो होस्, दार्शनिक, राजनीतिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणसहित सिर्जनाको संसारमा क्रियाशील हुन्छ।
विचारधाराबाट स्रष्टा र साहित्य दुवै मुक्त हुन्नन्। साहित्यको मूल्यांकनका मापदण्डहरू पनि विचारधाराबाट निरपेक्ष रहन्नन्। पद्धति र प्रक्रियालाई समेत यसबाट अलग गर्न सकिन्न। साहित्यको अन्तर्वस्तु र पक्षधरताले साहित्य उज्यालो वा अँध्यारो, न्याय वा अन्याय, परिवर्तन या यसको विरोधमा उभिएको छ भन्ने थाहा हुन्छ।
विख्यात साहित्यकार म्यक्सिम गोर्कीले 'तपाईं कता?' भन्ने प्रश्न लेखकहरूलाई यसै सन्दर्भमा गरेका थिए। साहित्यको कलात्मक रूप यसको महत्त्वपूर्ण विशेषता हो। यसले जे भन्छ, कलात्मक रूपमा भन्नुपर्छ। साहित्यलाई ‘माझिएको भाषा,’ ‘परिष्कृत बोली,’ ‘कलात्मक अभिव्यक्ति’ आदि भन्नुको तात्पर्य पनि यही हो। साहित्यबाट प्राप्त हुने सौन्दर्य यसको संज्ञानात्मक, शिक्षात्मक र विचारधारात्मक कार्यसँग जोडिएको छ।
यथार्थको कलात्मक प्रकटीकरण वा सुन्दर रूपबाट मात्र कुनै साहित्य सुन्दर हुन्न। साहित्य कलात्मक रचना भएकै कारण यसले मनुष्यको हृदय र मस्तिष्कलाई गहिरो गरी प्रभावित गर्दछ। यही प्रभाव नै परिवर्तनको कारक बन्छ। साहित्यको कलात्मक प्रभाव दिगो र बलियो हुने भएकोले जीवन र समाजका सन्दर्भमा यसको भूमिकालाई महत्त्व प्रदान गरिएको हो। शक्तिशाली भाषाहरूले गर्न नसकेको कार्य एउटा सुन्दर गीतसंगीतले गरेको हजारौँ उदाहरण छन्। यसैले साहित्यले मानिसलाई अमृत र विष दुवै दिन सक्छ भनिन्छ। सम्पूर्ण विभेद र उत्पीडनका विरुद्धमा उभिँदै स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्यका पक्षमा रहने साहित्य अमृत हो, यसको विरोधमा उभिने साहित्य विष।
अन्तर्वस्तुको कारण साहित्य अमृत वा विष हुन्छ। साहित्यको यस सामर्थ्यलाई सत्तारुढ वर्गले सधैँ आफ्ना हितहरूका निम्ति उपयोग गर्दै आएको छ। नेपाली इतिहास नै यसको साक्षी छ। वर्तमान पनि यसबाट मुक्त छैन। साहित्यले मानिसको हृदय, भावना, संस्कार र विचारलाई माझ्छ र सुन्दर बनाउँछ। सुन्दर अन्तर्वस्तु भएको साहित्यले यस्तो भूमिका सम्पादन गर्छ।
एरिस्टोटलले काव्यशास्त्रमा विरेचन शब्दको प्रयोग मनलाई माझ्ने र सफा एवं स्वस्थ राख्ने सन्दर्भमा गरेका छन्। सुन्दर साहित्यको भूमिका मनुष्यलाई आलोचनात्मक विवेकले समृद्ध गर्ने, उसको आन्तरिक जगत्लाई अझ परिष्कृत गर्ने, अँध्यारोका विरुद्ध संघर्ष गर्न प्रेरित गर्ने र नयाँ संसार निर्माणका निम्ति दृष्टि प्रदान गर्ने कार्य गर्दै आएको छ।
साहित्यमा मानिसले आफूलाई पाउँछ। यसैकारण साहित्य उसका निम्ति प्रिय रहन्छ। जीवन र जगत्लाई विभेद र अनेकन् विसङ्गतिहरूबाट मुक्त गर्ने कुरामै यसको महत्त्वलाई नियालिन्छ। यो कार्य साहित्यले आफ्नो विशिष्ट प्रकृति अनुसार गर्छ। साहित्यको यही भूमिका विवेकका विरुद्धमा उभिन्छ। साहित्य पढेर मानिसहरू संघर्षमा होमिएका मात्र छैनन्, प्राणको आहुति पनि दिएका छन्। साहित्य मनुष्यका निम्ति आनन्द प्राप्त गर्ने मात्र होइन, संज्ञान, शिक्षा र दृष्टि प्राप्त गर्ने स्थल पनि हो। मनुष्यका निम्ति एक सुन्दर आश्रयस्थल हो यो। सुन्दर साहित्यको आवासभित्र पसेपछि मनुष्य सुन्दर भएर निस्कन्छ। झरीपछिको आकाश जस्तो हुन्छ, उसको हृदय र उसको आलोचनात्मक विवेक अझ बढी धारिलो बन्छ।
विभेदपूर्ण संरचना, वर्ग, जात, लिंग, रङ आदिका कारण उत्पन्न हुने उत्पीडन मनुष्य र समाज कष्टकर हुनुका महत्त्वपूर्ण कारणहरू हुन्। साहित्यले यसको प्रतिवाद गर्दै आएको छ, तर विभेदपूर्ण संरचना र उत्पीडनका विविध रूपहरू आज पनि जीवित छन्। मनुष्य समाज मनुष्य समाज जस्तो छैन। मानवताका अगाडि गम्भीर चुनौती छन्। अन्यायपूर्ण युद्धहरू चलेकै छन्। हातहतियारको होडबाजी जीवित छ। हतियारमा मात्र एक वर्षमा खर्बौं डलर खर्च हुन्छ। गरिबी, अभाव, कुपोषण, अशिक्षामा बाँच्नेहरूको संख्या करोडौँ छ। थोरै मानिसहरूको हातमा आफ्नो मुलुक र संसारको अपार धनराशि केन्द्रित छ। हरेक कुरामा उनीहरू नै शक्तिशाली र निर्णायक छन्।
लोकतन्त्र लोकतन्त्र जस्तो छैन। पाखण्ड, षड्यन्त्र, जालझेल, असत्य चारैतिर फैलिएका छन्। उत्तरआधुनिक मिडिया अराजक मात्र छैन, सत्ताको पूजक पनि छ। प्रसिद्ध चेक लेखक वाकलाब हाबेल उत्तर आधुनिक व्यवस्थाले प्रत्येक पाइलामा मनुष्यलाई आकर्षित गर्छ मात्र भन्दैनन्, यसको परिणामस्वरूप जीवन पाखण्ड र झुटले लबालब छ भन्छन्। हाबेलको आशय स्पष्ट छ। आज स्थिति अझ बिग्रिएको छ। मनुष्य आफ्नो सारतत्व गुमाउँदैछ। हामी कतिपयले भन्ने गरे जस्तो एक भिन्न र प्रशंसा गर्न मिल्ने संसारमा छैनौँ, बरु प्रसिद्ध ब्रिटिस फिल्म निर्माता, संगीतकार म्याक्स हेरिसले भनेजस्तो समकालीन समाजको अन्यायपूर्ण संरचनाभित्र छौँ।
समयले साहित्यमा आलोचनात्मक विवेकको अझ प्रखर अभिव्यक्ति चाहेको छ। यसका निम्ति स्रष्टामा गम्भीर आलोचनात्मक विवेक चाहिन्छ। यसलाई अझ बढी धारिलो बनाउनुपर्ने समय हो यो। आलोचनात्मक दृष्टिका निम्ति यसलाई कमजोर बनाउने र नष्ट गर्ने दृष्टिकोण र प्रवृत्तिका विरुद्ध स्रष्टाहरू जुझ्न सक्नुपर्छ।
धेरै नेपाली स्रष्टाहरूमा अपेक्षित आलोचनात्मक विवेकको कमी छ। यो वैश्विक यथार्थ पनि हो। जीवन र जगत्को सुन्दरताको पक्षमा उभिएका स्रष्टाहरूले विभेदको अन्त्य र समतापूर्ण समाजको निर्माणका निम्ति आफ्नो कलमरूपी हतियारलाई धारिलो बनाउन जरुरी छ। यसका निम्ति आफ्नो आलोचनात्मक चेतनालाई माझ्नैपर्छ।
नेपाल आज जस्तो छ, यसले स्रष्टाहरूबाट अझ बढी आलोचनात्मक विवेकको अपेक्षा गर्नु स्वाभाविक छ। हामी हाम्रा सपनाहरू साकार हुँदै गरेको स्थितिका माझमा छैनौँ। हाम्रा अगाडिको यथार्थ कुरूप छ र यसलाई बदल्न हाम्रो कलम धारिलो हुन आवश्यक छ। हामीलाई हाम्रो आलोचनात्मक विवेकले नै जोगाउनेछ।
‘साहित्य आफ्नो मूलमा प्रतिरोध नै हो, जो बाँचिरहेको जीवनलाई अतिक्रमण गर्दै एक नयाँ जीवन सिर्जना गर्न चाहन्छ’ भन्ने भारतीय लेखक प्रियदर्शनको भनाइ मलाई अत्यन्त घत लाग्छ। विख्यात साहित्यकार मिलान कुन्देरा सुन्दर वा 'स्वर्ग'को सपना मनुष्यको सबैभन्दा पुरानो सपना हो भन्छन्। यसका निम्ति स्रष्टा मात्र होइन, यस्तो सपना देख्ने सबैले आफ्नो आलोचनात्मक विवेकलाई समृद्ध गर्नैपर्छ। सुन्दर सपना सजिलै कहाँ साकार भएका छन् र?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
