सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा : विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन अन्तर्विरोधमा फसेको बताएका छन्।

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारूढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

शुक्रबार जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सत्तारूढ गठबन्धन अन्तर्विरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताएका हुन्। 

सत्तारूढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलको तर्क थियो। निवर्तमान उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसमेत रहेका उनले भने, "देशको अर्थतन्त्र एकदम धरापमा परेको छ। राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ।"

उपाध्यक्ष पौडेलले राजस्वले मुलुकको साधारण खर्च धान्न नसक्ने अवस्था आउँदा पनि सरकार गम्भीर नभएको आरोपसमेत लगाएका छन्। उनले एमालेनिकट अनेरास्ववियूलाई विजयी हुनबाट रोक्न सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरेको बताए।