नुवाकोट– पृथ्वीनारायण शाहले एकीकरण अभियान प्रारम्भ गरेको ठाउँ, नौ वटा कोटहरू मिलेर बनेको सामरिक महत्त्वको भूभाग, जहाँ एघारौँ शताब्दीमा तिब्बती योगी मिलारेपाले ठूलो धर्मसभा सम्पन्न गराएका थिए।
सम्वत् २०७९ माघ १९ गते। पारिलो घाम लागेको कारण उस्तो चिसो थिएन दिन।
बिहानको ११ बज्दा सिंगापुरका नागरिक यूएन लिक वंग र उनकी छोरी यायालाई लिएर नुवाकोट डाँडो उक्लिसकेको थिएँ म।
सवा घण्टा लाग्दोरहेछ, प्राइभेट गाडीमा नुवाकोटको खोलेगाउँबाट नुवाकोट दरबार पुग्न। छहरे, ढिकुरे, सेराफाँट हुँदै सदरमुकाम विदुरबाट उकालो लागेपछि मात्र आउँछ नुवाकोटको डाँडो। ऊ बेला राणाजीहरू काठमाडौँ–नुवाकोट गर्दा घोडामा सवार हुन्थे। अहिलेको ‘खोलेगाउँ’मा उनीहरूका घोडालाई दानापानी र खोले खुवाउँथे रे। घोडालाई खोले खुवाउने ठाउँ भएकोले जनजिब्रोमा ‘खोलेगाउँ’ नाम बसेछ। अघिल्लो रात त्यहीँ रात बिताएका थियौँ हामीले।
चार दिनअघि मात्र नेपाल टेकेका थिए लिक र यायाले। कलेज बिदा भएको मौका छोपेर लिकले छोरीलाई नेपाल घुमाउन ल्याएका। उनी सिंगापुरको मेरो काउन्टरपार्ट। लामो समयदेखि व्यवसायमा सहयात्रा गरिरहेका छौँ। व्यावसायिक साँझेदारीसँगसँगै आपसमा असल मित्र पनि हौँ। साथी भएपछि साथ त दिनै पर्यो! पहिलोपटक नेपाल टेकेकी यायाको भ्रमणलाई सुखद र सम्झनायोग्य बनाउनु मेरो कर्तव्य नै थियो। त्यसैले पनि म उनीहरूको नेपाल दर्शनलाई साथ दिँदै थिएँ।
लिकको उद्देश्य खासमा श्रीमती र छोरीलाई अन्नपूर्ण क्षेत्रको खोप्राडाँडा पदयात्रा गराउनु थियो। बाबुछोरी नेपाल आइपुगे पनि लिककी पत्नी आइपुग्न अझै दुईतीन दिन बाँकी थियो।
काठमाडौँको घुमघाम तीन दिनमै सकिगो। अब उनीहरूलाई कहाँ अल्झाउने त? संसारकै सबैभन्दा सफा शहरका मान्छेलाई कति रुमल्याइ राख्नु राजधानीको धुलो र धुवाँमा! मुखले नभने पनि लिकपुत्रीको भावले काठमार्डौँको निस्सासिँदो वातावरणबाट निस्केर स्वच्छ हावामा श्वासप्रश्वास गर्ने आशय बुझेँ मैले।
सोचेँ, आफूलाई समय बिताउन मन पर्ने ठाउँ हो– नुवाकोट। नुवाकोट ‘अल्ट्रा–क्याजुएल ह्याङ्आउट’ भएकोले फुर्सद हुनेबित्तिकै त्यतैतिर कुदिहाल्ने मेरो बानी छ। मैले उनीहरूलाई पनि नुवाकोट नै लाने निर्णय गरेँ।

नुवाकोट– पृथ्वीनारायण शाहले एकीकरण अभियान प्रारम्भ गरेको ठाउँ। नुवाकोट– नौ वटा कोटहरू मिलेर बनेको सामरिक महत्त्वको भूभाग। नुवाकोट– ऐतिहासिक, धार्मिक र पौराणिक महत्त्व बोकेको पवित्र भूमि। नुवाकोट– प्राकृतिक सौन्दर्यले भरिएको सुन्दर भूगोल र धर्तिको एउटा शान्त स्वर्ग। नुवाकोट त्यही ठाउँ हो, जहाँ एघारौँ शताब्दीमा तिब्बती योगी मिलारेपाले ठूलो धर्मसभा सम्पन्न गराएका थिए। उति बेला भाल्पोजोङ भनिन्थ्यो, अहिलेको नुवाकोटलाई।
यहाँ भृकुटीले घर–माइती गर्दाका गोरेटाहरू छन्। जलयात्राका लागि तादी र त्रिशूली छन्। शिवजीले कालकुट विषसेवन गरेपछि डाह, छटपटी र प्यास मेट्न डुबेको गोसाइकुण्डसम्म पुग्ने बाटाहरू जोडिएका छन्। जंगल एक्टिभिटीका लागि ठूलिवन छ। जंगल एक्सकर्सनका साथै बर्ड वाचिङ पनि गर्न सकिन्छ।
एकातिर अथाह प्राकृतिक छटा, अर्कोतिर मूर्त सम्पादाहरूको जीवित संग्रहालय। हाम्रो पञ्चतत्वले अनुभूत गर्न सक्ने अनेक कुराहरू छन् नुवाकोटमा। नुवाकोटको बौद्धबिहार, दरबार परिसर र भैरवी मन्दिर चहार्दाचहार्दै मध्यदिन भइसकेको पत्तै भएन। त्यति बेलासम्म बिहान पेटमा हालेको चारो पेटमै बिलाइसकेको थियो। चारो थप्न नाइन फोर्ट रिसोर्ट पुगेथ्यौँ हामी।
नेपाली आतिथ्य सत्कार व्यवसायको नवीन दृष्टान्त हो– नाइन फोर्ट रिसोर्ट। अघिल्लो महिना मात्र यसले उघारेको थियो, आतिथ्यताको दैलो। नुवाकोटकै स्थानीय युवाहरूले स्वरोजगारी सिर्जनाका लागि लगानी गरेको एउटा प्रयास हो– द नाइन फोर्ट रिसोर्ट। नयाँ जोश। नयाँ जाँगर। नयाँ उत्साह। नयाँ उमंग। सबै कुरा नयाँ छ यहाँ।
देउपाखा डाँडोमा अवस्थित छ– नाइन फोर्ट रिसोर्ट। देवीको बासस्थान भएकोले देउपाखा भनिएको। लगभग भैरवी मान्दिर भएको डाँडोकै उचाइ। जनबोलीमा देउपाखा भिर पनि भनिन्छ– देउपाखा डाँडोलाई। पृथ्वीनारायण शाहले नुवाकोट कब्जा गरेपछि यहीँ बसेर राज्यविस्तारको रणनीति बनाएका थिए। भनिन्छ– उनी देउपाखा डाँडोमै आउँथे र ठन्डा दिमागले सोच्ने गर्थे रे। देउपाखाको शिरमा लाम्चो मेचजस्तै लाग्ने रहस्यमय कलात्मक प्रस्तर छ। बुढापाकाहरू भन्ने गर्थे– “यो पृथ्वीनारायण शाह बस्ने मेच हो।”

ढुंगामा तीन वटा खण्ड छुट्याइएको छ। प्रस्तरमा छुट्याइएको खण्ड उनका दुई महारानीलाई राख्ने सिट होला भन्ने अनुमान गर्न सकिन्छ। यद्यपि यो साँच्चिकै मेच हो वा देउताको मूर्तिलाई टेको दिने प्रयोजनले बनाइएको हो भन्ने कुरा चाहिँ एकिन गर्न सकिँदैन। जे होस्, मेच भनिएको सो प्रस्तर पर्यटकीय आकर्षणको रूपमा अद्यापि देउपाखाकै शिरमै सुरक्षित छ।
भैरवीमाई मन्दिरको खुट्किला ओर्लेर फेरि उक्लनुपर्छ, देउपाखाको शिरमा पुग्न। खुत्रुक्क ओर्लेर फुत्रुक्क उक्लेका थियौँ हामी। देउपाखाको शिरमा पुग्दा चञ्चल वायुको स्पर्शले स्वतः जागृत भएथ्यो शरीरका प्रत्येक अंग–प्रत्यंग, मानौँ उत्ताल संगीतझैँ लाग्ने बतासको माधुरीले मनभित्र काउकुती लगाएजस्तै। पृथ्वीनारायण शाह यहाँ आएर बस्ने गरेको रहस्य सायद यही होला भन्ठान्छु म।
नाइन फोर्ट रिसोर्टबाट तलतिर हेर्दा हरिया जंगल, टार र तादीका विशाल फाँट देखिन्छन्। तादी किनारमा अवस्थित छन्– चौँखडा, मालाकोट, घोडघाटजस्ता वस्ती। तादीमाथिका डाँडाहरूमा बसेका छन्– कविलास, चतुराले, दाङ्मै र चारघरे गाउँ। विछट्टै सुन्दर लाग्छन्, तादीको फाँटभरि टुपुक्क बसेका परालका कुनिउँ। उत्तिकै सुन्दर लाग्छ, तादी बगरको दृश्य। सेता बकुल्लाहरूले पखेटा फिँजाइरहेको तादीको आकाश झनै सुन्दर। नुवाकोटका नौ कोटमध्ये बेलकोट, मालाकोट, प्यासकोट, सिमलकोट भैरुमकोट र कालिकाकोटहरू पनि देखिन्छन्, नाइन फोर्ट रिसोर्टबाट।

टारदेखि हिमालसम्मका भूसतह नजरमा पर्छन्। अलि पर आँखा पुर्याउँदा देखिन्छ देवीघाट, अर्थात् तादी र त्रिशूलीको संगम। लिखु, तादी, त्रिशूली र सिन्दूरे खोलाको नागबेलीको सौन्दर्य। गणेश हिमाल–४ र लाङटाङको मुस्कुराहट। त्रिशूलीको पुरानो बट्टारबजार, माझीटार, महारानी डीही र पिपलटारका वस्ती। मोहक लाग्छन् तमाम दृश्य। बिछट्टै रमणीय लाग्छन्– उचाइमा अवस्थित ककनी र रानीपौवा, काउले, देउराली, फिकुरी सामरी भन्ज्याङ र सुर्यगढीलगायत बागेश्वरीका वस्तीहरू। एउटै ठाउँबाट यति धेरै दृश्य देखिन्छन् कि– ती सबलाई सम्झनका लागि कागज र कलम लिएर दुई–चार दिन त्यही बस्नुपर्छ।
देउपाखा डाँडोको शिरमा छ, चौडा थली। नाइन फोर्ट रिसोर्टकै टेरिटोरी। रिसोर्टमा आउने सवारीका साधनहरू यहीँ रोकिन्छन्। फराकिलो छ, रिसोर्टको डाइनिङ हल। सो हलको नौ सुरले नुवाकोटका नौ वटा कोटहरूको प्रतिनिधित्व गरेका छन्। हलको प्रत्येक सुरमा नुवाकोटसित सम्बन्धित प्राकृतिक एवम् सांस्कृतिक महत्त्वका तस्वीर राख्ने प्रयोजनका लागि फ्रेम राखिएका छन्।
तीन वटा द्वार छन् डाइनिङ हलको। पूर्वि मोहडामा छ, मूलद्वार। मूलद्वारबाट प्रवेश गरेका पाहुनाहरू शयनागारतर्फ जान पश्चिमतर्फको द्वार हुँदै जानुपर्छ। स्वागत कक्षसँगैको द्वारबाट किचनतर्फ जाने बाटो छ।
एक गृह, एक शयनकक्षको अवधारणा। एटेच बाथरूमसहित। शयनगृह जाने लेनको दायाँबायाँ थरिथरिका फूलले सजिएको। तादीको फाँटमा परालका कुनिउ टुपुक्क बसेजस्तै लाग्छन्, देउपाखाको पिठ्यूमा निर्मित शयनगृहहरू।

रिसोर्टको दायाबायाँका रूख र झाडीहरूको महासागरले बागबानीको झल्को दिन्छ। मूलद्वारसँगैको तरकारी प्याचले दिने हरित सौन्दर्य कुनै फूलको भन्दा कम छैन। कति राम्रो आइडिया, बाटिकाले दिने ‘शो’ पनि देखिने, सागसब्जी पनि किन्नु नपर्ने!
रिसोर्टको पश्चिमपट्टि सजाइएको छ— एक थान कलात्मक ढुंगेधारा। मौलिक सभ्यताको पहिचान एवम् इतिहास कला र संस्कृतिको परिचायक प्रतीक– हो ढुंगेधारा। पृथ्वीनारायण शाहले प्रयोग गर्ने नुवाकोटको प्रख्यात ‘तीनधारा’मध्येको मूल धाराको आभास दिन्छ— रिसोर्टमा मौजुद धाराको कलकलले।
भनिन्छ, पहिलो प्रभाव नै अन्तिम छाप हो। यही आभास हुन्छ द नाइन फोर्ट रिसोर्टमा पुग्दा। नौ कोटको अवधारणा एवम् वास्तुकला, भूदृश्य र बगैँचा सजावटको संगम भएकोले नाइन फोर्ट रिसोर्टलाई ‘फ्युजन अफ थ्री इलिमेन्टस्’ भन्दा सायदै अतिशयोक्ति होला।
छर्रा रातो माटो। उब्जनी खासै हुन्थेन। लगाएको बालीनाली पनि बाँदरले बाँकी राख्थेन। कुनै जमानामा फ्याँकिएको लोटाजस्तै भएको देउपाखा शिर अहिले पर्यटकहरूको स्वप्न गन्तव्य भएको छ।
२०२८ सालसम्म सदरमुकाम नुवाकोट डाँडोमै थियो। उही साल राज्य नै लागेर सदरमुकाम खोसियो। सदरमुकाम मात्र खोसिएन। यहाँका मान्छेका खुशी पनि खोसिएथ्यो। सदरमुकाम खोसिए पनि समयले खुशी फर्काइदिएझँै भएको छ नुवाकोट डाँडोलाई। खुशीका लागि समयलाई पर्खन सक्नुपर्दोरहेछ।
बान्की परेको सुन्दर थुम्को हो– देउपाखा। सालघारीको हरियालीले ढाकिएको छ, देउपाखाको वक्षस्थल। त्यसैले प्रकृतिले सजिएको आफैँमा एउटा सुन्दर बगैँचा बनेको छ– नाइन फोर्ट रिसोर्ट। एकातिर चराहरूको ‘चिरबिर’, अर्कोतिर माहुरीहरूको ‘भुनभुन’। आहा, बस्नु त यस्तो ठाउँमा पो!
दृश्यपानले मात्र पेटमा लागेको भोक मेटिँदोरहेनछ। तादी र त्रिशूलीको संगम देखिने डाइनिङ हलको एउटा सुरको टेबल रोज्यौँ हामीले।
‘कहिले खातैखात, कहिले पुन्पुरोमा हात’ भनेको यही हो। अचम्मको छ मान्छेको जीवन। कहिले भोक लाग्दा खाने कुरा पाइँदैन। कहिले अघाइसक्दा पनि खानाको ओइरो लागिरहन्छ। यसरी खानाले टेबल भरिएको देख्दा दुई महिना अघिमात्र लार्के पास गर्दा भोकले रन्थनिएका प्रत्येक पल सम्झेथेँ।

घर छोडेर नेपाल आएपछि चाइनिज खाना खान पाएका थिएनन् उनीहरूले। टेबलमा आइपुगेका व्यञ्जनहरू ग्रहण गर्दा यस्तो लाग्थ्यो कि, उनीहरूले आफ्नो स्वाद निकै मिस गरिरहेका थिए। यसो हुनु स्वाभाभिक हो। म पहिलो पटक अमेरिका जाँदा दालभात निकै मिस गरेको थिएँ। मेरिल्यान्डको नेपाली रेस्टुरेन्टमा चिकन करी र राइस खाँदा ‘हांग्राले पांग्रा निलेको’ भनेजस्तो गरेथेँ मैले।
फेरि गर्भदेखि नै चपस्टिकको प्रयोग गर्न जानेका हुन्छन् उनीहरू। भातका सिता र नुडलका त्यान्द्रालाई पनि सजिलै टपक्क टिप्छन् उनीहरू। त्यति सजिलोगरी त म चम्चा र काँटा पनि खेलाउन जान्दिनँ।
पृथक छ, चिनियाँहरूको पाककला, शैली र व्यञ्जन। भोजन गर्ने कला त्यस्तै। स्वादिला परिकार। टिमुरे स्वाद। अंग्रेजी भाषामा टिमुरलाई सिचुवान भनिन्छ। चीनमा त सिङ्गो प्रान्तको नाम नै सिचुवान छ। प्रायः खानामा टिमुरको प्रयोग गर्छन् उनीहरू। र, त सबैलाई मन पर्ने स्वादिष्ट बन्छन् व्यञ्जनहरू।
देशहरूका आ–आफ्नै विशेषता छन्। त्यसैले मान्छेहरू भन्ने गर्छन्– ‘अमेरिकन लाइफ, जापानिज वाइफ र चाइनिज फुड।’ यसमा मलाई एउटा कुरा थप्न मन लाग्यो। त्यो हो– ‘डेस्टिनेसन नुवाकोट।’
मिष्टान्न भोजन गरियो द नाइन फोर्ट रिसोर्टमा।
खाने चारजना। परिकार दशथरि। टेबलमा आएका सबै व्यञ्जन बुत्याउन कहाँ सक्यौँ र! मेरो पेट अघाए पनि मन अघाएको थिएन। नुवाकोटबाट फर्केर काठमाडौँ आउँदै गर्दा गुर्जेभन्ज्याङको ओरालो झर्ने क्रमममा पेट अलिक खुकुलो हुँदा फेरि उही टिमुरे स्वादका व्यञ्जन सम्झेर मुख रसाइरहेथ्यो।
खाना खाइसकेपछि छोरी यायाले लिकलाई सोध्दै थिइन्– ‘क्यान वी स्टे हियर टु डे?’
उनी भन्थिन्– ‘द भ्युज आर मेस्मराइजिङ!’
भोलिपल्ट बिहानै लिक पत्नीको आगमन भएकोले उनलाई एअरपोर्ट जानुपर्ने थियो। बिचरी यायाको मनसाय पूरा गर्न सकिनँ मैले।
उनको बसाइको रहरलाई थाँती राखेर निस्केथ्यौँ हामी।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
