गणेशमान सिंह रोड रेसको उपाधि मुकेश र राजपुरालाई

महिला र पुरुषतर्फका विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे। कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन्।

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौथौ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन्।

शनिबार गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ३१ मिनेट २१.७६ सेकेन्डमा पूरा गरे।

महिलातर्फ राजपुराले कीर्तिमान बनाउँदै निर्धारित दूरी ३६ मिनेट ४३.२ सेकेन्डमा पूरा गरिन्। राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी हुन् । यसअघि उनको नाममा ३७ मिनेट १०.५ सेकेन्डको कीर्तिमान थियो।

दरबारमार्गस्थित शेर्पा मलबाट शुरू भएको रेसमा एपीएफका गोपीचन्द्र पार्की दोस्रो भए। साबिक विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ३८.६८ सेकेन्डमा दौड पूरा गरे।

आर्मीका दीपक अधिकारी तेस्रो भए। महिलातर्फ पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन्। एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन्। उनले निर्धारित दूरी ३८ मिनेट २६.०३ सेकेन्डमा पूरा गरिन्।  

महिला र पुरुषतर्फका विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे। कीर्तिमान बनाएकी राजपुराले थप १० हजार प्राप्त गरिन्।

प्रतियोगितामा १०० बढी धावकले भाग लिएका थिए।