आर्थिक मन्दीले बाँकेमा घट्यो व्यापार

उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बैंकहरूले व्यवसायीबाट चर्को ब्याज लिँदा र विकास निर्माणका काम ठप्प हुँदा नेपालगन्जको व्यापार–व्यवसाय मन्द भएको बताए।

काठमाडौँ– बाँकेका मुख्य बजार नेपालगन्ज र कोहलपुरको व्यापार–व्यवसाय मन्द हुँदै गएको छ। कोरोनाले थलिएको नेपालगन्जको व्यापार–व्यवसाय पछिल्लो समय व्यवसायीले लिएको ऋणमा बैंकले चर्को ब्याज लिने गरेको र खुला सिमानाका कारण न्यून हुँदै गएको हो।

भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगन्जको व्यापारले प्रतिस्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्यभन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगन्जको व्यापार कम हुँदै गएको व्यापारीहरूले बताएका छन्।

आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरू गुनासो छ। आर्थिक मन्दीमा पनि सरकारले आवश्यक चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताए। उनले अनलाइन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्यून हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताए।

खुला सीमा र भारतीय बजारबाट ‘क्यारिङ’ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगन्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगन्जकी महिला व्यवसायी माया खड्काले बताइन्। उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाइ गर्नुपर्ने माग गरिन्। आर्थिक संकट बढ्दै जानु र व्यापारीलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगन्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरूको गुनासो छ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगन्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए। उनले नेपालगन्जको व्यापार कम हुनुमा बैंकहरूले व्यवसायीबाट चर्को ब्याज लिनु र विकास निर्माणका कार्य ठप्प हुनु रहेको तर्क गरे। व्यवसाय चलायमान बनाउने सहुलियत दरमा ऋण दिनुपर्ने, अनलाइन व्यापार र खुला सिमानामा सरकारले कडाइ गर्नुपर्ने व्यापारीहरूको माग छ।