संकल्पपत्र सार्वजनिक कार्यक्रममा बोलेनन् देउवा, स्वर्णिम वाग्ले मुख्य वक्ता

कांग्रेसले संकल्पपत्र सार्वजनिक कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा र डा. स्वर्णिम वाग्लेलाई मात्र बोल्न समय दिएको थियो। वाग्लेका लागि शर्मालाई भन्दा दोब्बर समय छुट्याइएको थियो।

नेपाली कांग्रेसको संकल्पपत्र सार्वजनिक गर्दै सभापति देउवा।

काठमाडौँ– आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि नेपाली कांग्रेसले ‘संकल्पपत्र’ सार्वजनिक गर्न सानेपास्थित केन्द्रीय कार्यालयमा शनिबार गरि कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बोलेनन्। उनले आवरण पृष्ठ करिब एक मिनेट देखाएर ‘संकल्पपत्र’ सार्वजनिक गरे।

कांग्रेसले उक्त कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा र डा. स्वर्णिम वाग्लेलाई मात्र बोल्न समय दिएको थियो। शर्मापछि बोलेका वाग्लेका लागि शर्मालाई भन्दा दोब्बर समय छुट्याइएको थियो। कार्यक्रममा उनैलाई मुख्य वक्ता बनाइएको थियो।

शर्मा संकल्पपत्र तयारी समितिका संयोजक र वाग्ले सदस्य हुन्। वाग्लेलाई प्रतिनिधिसभाका लागि टिकट नदिएको भन्दै कांग्रेसभित्रै देउवाको आलोचना भएको थियो। वाग्ले चितवन, गोर्खा वा काठमाडौँमध्ये एक क्षेत्रबाट उम्मेदवार बन्न चाहन्थे।

शुरुमै बोलेका महामन्त्री शर्मा एमाले अध्यक्ष केपी ओलीप्रति आक्राम रूपमा प्रस्तुत भए। उनले कांग्रेसका आगामी कार्यक्रमबारे प्रष्ट पार्नुभन्दा बढी एमालेको आलोचना गरे।

संकल्प प्रस्ताव सार्वजनिक भएपछि बोल्न थालेका शर्माले आफूहरूले मनगढन्ते र चुनाव केन्द्रित लोकप्रियताका लागि नभएर ‘यथार्थपरक’ संकल्पहरू राखेको दाबी गरे। राज्यले तय गरेका नीति र कार्यक्रमहरू एकातिर र घोषणापत्र अर्कोतिर नहोस् भनेर ध्यान पुर्‍याएको उनले दाबी गरे।

शर्माले प्रतिनिधिसभा कुनै पनि हालतमा विघटन नगर्ने र हुन नदिने बताए। “अढाई वर्ष वा तीन वर्ष होइन, अब निर्वाचित संसद्को नेतृत्व लिँदै त्यसलाई सर्वोच्च अदालतको आदेशको समेत मर्मलाई आत्मसात् गरेर पाँच वर्षको पूरा कार्यकालसम्म चलाउन पार्टीले संकल्प लिएको छ,” महामन्त्री शर्माले भने।

संकल्पपत्रको प्रारम्भिक अनुच्छेदपछिको पहिलो बुँदामै कांग्रेसले एमाले अध्यक्ष केपी ओलीको आलोचना गरेको छ। २०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनले सुविधाजनक बुहमत ल्याए पनि पाँच वर्ष खेर गएको कांग्रेसले उल्लेख गरेको छ।

“शक्तिको केन्द्रीकरण गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको उन्मादी महत्वाकांक्षा लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउन उद्यत भयो,” संकल्पपत्रमा भनिएको छ। ओलीले नेपालको राजनीतिलाई अस्थिरतामा फसाएको कांग्रेसको आरोप छ।

२०७४ पछिको नेकपाको सरकारले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमण गरेको, संघीयता कार्यान्वयनको साटो नियन्त्रण गरेको, संवैधानिक निकायको कम्युनिस्टकरण गरेको, विभेदकारी नागरिकताको पक्ष लिएको भन्दै अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको आरोप लगाइएको छ। दुईपटक प्रतिनिधिसभा विघटनको घटनालाई ‘लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र’को रूपमा कांग्रेसले चित्रित गरेको छ।

कांग्रेसको संकल्पपत्र व्यवस्थाको संरक्षण र अवस्था सुधारतिर केन्द्रित रहेको महामन्त्री शर्माले बताए।

डा. वाग्लेले शान्ति प्रक्रिया र संविधान निर्माणपछि अब आर्थिक विकास मुलुकको मुख्य आवश्यकता रहेको बताए। संविधानलाई सर्वस्वीकार्य बनाउनेदेखि राष्ट्रियता तथा विदेश नीतिमा राष्ट्रिय सहमति निर्माण गर्नेजस्ता विषय संकल्पपत्रमा समेटिएको उनले बताए।

संकल्पपत्रमा समेटिएका जनताको सार्वभौम समानता, पर्यावरणीय सवाल तथा जलयावु परिर्वतन, भूराजनीतिक परिवर्तन, बसाइँसराइ नियन्त्रण र गरिबीलाई १० प्रतिशतभन्दा तल झार्नेजस्ता विषयले यसलाई महत्त्वपूर्ण बनाएको उनको दाबी छ।

यस्तो थियो माहोल
आसन्न निर्वाचनका लागि कांग्रेसको संकल्पपत्र बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम थियो। सानेपास्थित केन्द्रीय कार्यालयमा भने बिहान ९ बजेभन्दा अगाडि नै सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। कार्यक्रमका लागि पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र अन्य विशिष्ट व्यक्ति आउँदै थिए।

साढे १० बजेपछि प्रहरीको सक्रियता बढ्यो। देउवा केहीबेरमै आइपुग्ने भएपछि प्राङ्गणमा भएकाहरू पार्टी कार्यालयको भवनको सिँढी उक्लिन थाले। तर, प्रहरी भने सिँढी खाली गराउनतिर लागेको थियो। बाक्लो भीडले हल भने अस्तव्यस्त थियो।

केन्द्रीय सदस्य र अन्य नेताहरू चाङ लगाइएका कुर्सी आफैँले निकालेर बस्न थाले। त्यसक्रममा केही नेताहरूले प्रतिनिधि र प्रदेशसभामा टिकट पाएकाहरूलाई बधाई दिँदै थिए। प्रतिनिधि र प्रदेशसभाका तीनवटै क्षेत्रमा टिकट नपाएका ठाउँका नेता गुनासो पोखिरहेका थिए।

एकैछिनमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको आगमन भयो। उनी सरासर मञ्चमा गएर बसे। नेताहरू प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, रामशरण महतलगायत दायाँबाँया बसे। तर, बोल्ने पालो कसैले पाएनन्, न त देउवाले बोले।