बागी उम्मेदवारी दिने माओवादी केन्द्रका ५ नेता कारबाहीमा

माओवादीले बागी उम्मेदवारी दिएका र उनीहरूका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि सिफारिस गर्न पनि प्रदेश समितिलाई निर्देशन दिएको छ।

काठमाडौँ– नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका पाँच नेतालाई कारबाही गरेको छ।

माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।

कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य हेमराज भण्डारी, अशोककुमार मण्डल, वीरेन्द्र यादव, दीपेन्द्रबहादुर पुन मगर र केन्द्रीय लेखा परीक्षण आयोगका सदस्य काशिचन्द्र बराल रहेका छन्।

प्रतिधिसभातर्फ धनकुटाबाट भण्डारीले, सप्तरी- १ बाट मण्डलले र कालीकोटबाट बरालले बागी उम्मेदवारी दिएका थिए। यस्तै, यादवले मधेश प्रदेशअन्तर्गतको पर्सा- ४ (१) र मगरले रोल्पा- १ (२) बाट पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थिए।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बन्धित प्रदेश समितिका इन्चार्ज/अध्यक्षको नाममा विशेष परिपत्र गर्दै उनीहरूलाई कारबाही गरिएको जनाएका छन्।

माओवादीले बागी उम्मेदवारी दिएका र उनीहरूका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि सिफारिस गर्न पनि प्रदेश समितिलाई निर्देशन दिएको छ।