आयोगले खारेज गर्‍यो डा. तोसिमा कार्कीको उम्मेदवारी

सार्वजनिक पदमा बसेर लाभ लिइरहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

तस्वीर: डा. तोसिमा कार्कीको फेसबुकबाट।

काठमाडौँ- निर्वाचन आयोगले डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ।

कार्की आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार थिइन्। सार्वजनिक पदमा बसेर लाभ लिइरहेको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो।

कार्कीको उम्मेदवारी खारेज गरी पाऊँ भन्दै एक साताअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो। कार्यालयले कार्कीसँग स्पष्टीकरण सोधेर निर्णयका लागि आयोगमा स्पष्टीकरणसहितको कागजातहरू पठाएको थियो।

कार्की गत वर्ष पुस २ गतेदेखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रूपमा वहाल रहेको र काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा कुनै मासिक तलब नभए पनि बैठक-भत्ता र भ्रमण-भत्ता बुझेको भेटिएपछि उनको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ। आयोगको शनिबार बसेको बैठकले कार्कीको उम्मेदवारी अयोग्य ठहर गरेको आयोगका उपसचिव एवं सहप्रवक्ता कमल कमल भट्टराईले बताए।

"प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) मा भएको कानूनी व्यवस्थाबमोजिम निजको उम्मेदवार हुन योग्यता पूरा गरेको नदेखिएकाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ को उपदफा (५) बमोजिम निज डा. कार्कीको ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारी अयोग्य हुने गरी आयोगबाट निर्णय भएको छ," आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।