निर्वाचन आयोगले सोध्यो जुली महतो र सूर्य थापालाई स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्री र जुलीकुमारी महतोसँग स्पष्टीकरण मागेको छ।

काठमाडौँ– निर्वाचन आयोगले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापा क्षेत्री र जुलीकुमारी महतोसँग स्पष्टीकरण मागेको छ। थापा प्यूठानबाट र महतो धनुषा-३ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार छन्।

निर्वाचन प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएको भन्दै आयोगले थापासँग स्पष्टीकरण सोधेको हो। निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग गर्ने कार्य निर्वाचन आचारसंहिताको प्रतिकूल रहेको ठहर गर्दै आयोगले थापालाई स्पष्टीकरण दिन भनेको हो।

निर्वाचन आचारसंहिताको दफा १३, राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणअन्तर्गत उपदफा (१) को खण्ड (ट) मा ‘निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था रहेको छ।

त्यस्तै, महतोले तस्वीरसहितको फ्लेक्स अटो रिक्सापछाडि राखी सूर्य चुनावचिह्नमा मत मागेको फोटो आयोगमा प्राप्त भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको ठहर गर्दै स्पष्ट पार्न भनेको हो।

निर्वाचन आचारसंहितामा ‘कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने’ व्यवस्था छ।

दुवै जनालाई आयोगले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।