मण्डलामा ‘एउटा सपनाको अवसान’

सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बरालले समसामयिक बनाएर प्रस्तुत गरेका छन्।

तस्वीर : अनुप बरालको फेसबुकबाट

काठमाडौँ– अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘एउटा सपनाको अवसान’ मण्डला नाटकघरमा मञ्चन शुरू भएको छ।

सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गरेका हुन्। यो नाटक २५ वर्षअघि नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा आफूले पढेको उनले बताए।

“हामीले सपनाको मूल्य चुकाउन बाध्य चरित्रलाई जीवन्त बनाएका छौँ। त्यसैले यसलाई मञ्चमा प्रस्तुत गरेको हुँ,” निर्देशक बरालले भने, “यसमा मध्यमवर्गीय परिवारको सकस छ।”

यसको लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको उनको भनाइ छ। गोविन प्रोडक्सनका प्रबन्ध निर्देशक गोविन्द पराजुलीले निर्माणको जिम्मा लिएपछि नाटक मञ्चन भएको हो।

नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाईँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झालगायत कलाकारले अभिनय गरेका छन्। निर्देशक बरालले चार वर्षअघि गरिब र निमुखाको लासमाथि राजनीति गरेर ‘भोज’ गर्ने कुत्सित राजनीतिज्ञको कथा प्रस्तुत गर्ने ‘महाभोज’को निर्देशन गरेका थिए।

नाटक एक महिनासम्म मञ्चन हुने बताइएको छ।