धेरैले थाहा नभएको विषय हो, नेपालसँग पनि बेसबलको राष्ट्रिय टिम छ र त्यसका अधिकांश सदस्य पहिला फुटबल खेलाडी थिए। ती खेलाडीलाई बेसबल सिकाएर राष्ट्रिय टिमसम्म पुर्याउने काम रोशन थापाले गरिरहेका छन्।
काठमाडौँ– भक्तपुर क्यान्सर अस्पतालपछाडिको शहीद स्मारक खेल मैदानमा प्रायः अनौठो दृश्य देखिन्छ। फुटबलको प्रशिक्षण लिइरहेका ५ देखि १३ वर्षका खेलाडी दुई घन्टापछि फेरि बेसबलको प्रशिक्षण थाल्छन्। नेपालमा प्रायः नखेलिने अनौठो खेलको दृश्य हेर्नेहरू पनि उत्तिकै हुन्छन्।
शुक्रबार र शनिबार भिड नै लाग्ने यो मैदानको एउटा कुनामा उसु र अर्काे कुनामा फुटबलको प्रशिक्षण चल्छ। दुई घण्टाको प्रशिक्षणपछि उसु खेलाडी घरतिर लाग्छन्। तर ५ देखि १३ वर्षका फुटबल खेलाडी बेसबल प्रशिक्षक रोशन थापाको पर्खाइमा हुन्छन्।
प्रशिक्षक थापा मैदान पुगेपछि फुटबल खेल्नेहरू ब्याट्स, बल र ग्लोब्स समात्न पुग्छन्। २०/२५ जना खेलाडीलाई ठूलो झोलातिर देखाउँदै थापा भन्छन्, “बिस्तारै है बिस्तारै। सबैले एक–एक वटा सामान मात्रै लिने, ग्लोब्स समाएकोले पालैपालो पिचिङ गर्ने, ब्याट्स समाएकोले ब्याटिङ गर्ने। तर रन लिँदा दैडिएर डाइभ नगर्ने, चोट लाग्छ।”
धेरैले थाहा नभएको विषय के हो भने, नेपालसँग पनि बेसबलको राष्ट्रिय टिम छ र त्यसका अधिकांश सदस्य पहिला फुटबल खेलाडी थिए। कोही फुटबलमा सफलता नमिलेर बेसबल खेल्न आइपुगेका हुन्, कोही साथीहरूको लहडमा लागेर। बेसबलको राष्ट्रिय टिमका आधा जति खेलाडी त भक्तपुरकै छन्।

अहिले भक्तपुरमा मात्रै बेसबल सिकाइने हुँदा ग्रासरूट फुटबल सिकिरहेका खेलाडीहरू पनि हप्तामा दुई दिन बेसबलको प्रशिक्षण लिन आकर्षित देखिन्छन्। त्यही कारण प्रशिक्षक थापाले ग्रासरूट फुटबल सिकिरहेका खोप किङ्स (भक्तपुरको फुटबल एकेडेमी)सँग मिलेर हप्तामा दुई दिन बेसबलको निःशुल्क प्रशिक्षण दिन्छन्।
अहिले बेसबलको राष्ट्रिय टोलीमा भएका धेरै खेलाडी थापाकै उत्पादन हुन्। “बेसबलको राष्ट्रिय टोलीमा भएका कतिपय खेलाडीहरू एन्फामा सेलेक्सन खेलेर फर्किएका पनि छन्। धेरैलाई मैले ३–४ कक्षामा पढ्दैदेखि बेसबल सिकाउन थालेको थिएँ,” थापा भन्छन्, “बेसबलको ग्रासरुटलाई मर्न नदिन मैले निःशुल्क प्रशिक्षण गरेको हुँ।”
अहिले भक्तपुरबाट सगुन खिचाजु, निश्चल केसी, निकेश केसी, पुजन खिचाजु, अभय बयरकोटी, रोहन खत्री र प्रदीप पौडेल राष्ट्रिय टोलीमा छन्। अन्य खेलाडीहरू भने बाहिरका छन्।
थापा पनि विद्यार्थी जीवनमा फुटबल खेलाडी नै थिए। प्रहरी विद्यालयमा पढ्दा उनका धेरै साथीको लक्ष्य फुटबलको राष्ट्रिय टिममा पर्ने नै थियो। त्यहीबेला अमेरिकाबाट एउटा समूहले विद्यालयमा बेसबल सिकाउन थाले। अनि उनी फुटबल छाडेर बेसबलतिर लागे।
“सबैले खेलेको देख्दा मलाई पनि फुटबल खुबै मन पर्थ्यो। फुटबलको क्रेज पनि धेरै थियो। भक्तपुरका धेरै खेलाडी राष्ट्रिय टोलीमै भएकाले त्यसको प्रभाव परेको थियो। तर नेपालमा जग नै नबसेको बेसबलमा करिअर देखेर स्कुलबाट पासआउट नहुँदै यता लागेँ,” उनी सुनाउँछन्।
अमेरिकाबाट फर्केका युवाहरूले पहिलोपटक सन् १९६० को दशकमा (२०१७ सालपछि) नेपालमा बेसबल भित्र्याएका थिए। शुरूमा सेन्ट जेभियर्स स्कूल जावलाखेलमा बेसबल खेलिन्थ्यो। त्योबेला अमेरिका, जापान र दक्षिण कोरियामा बेसबल लोकप्रिय थियो। तर अहिलेको जस्तो चर्चामा थिएन। नेपालमा प्रशिक्षक अभाव र यसका सामग्री धेरै महँगो हुने भएको कारण सेन्ट जेभियर्स स्कूलले रोपेको बेसबलले हाँगा फिजाउन सकेन।
केही नेपालीले अमेरिकीहरूको सहयोगमा अल नेपाल बेसबल एसोसिएसन दर्ता गरे। सन् १९९९ तिर अध्ययनका लागि नेपाल आएका जापानको ओसाकास्थित गाकुइन युनिभर्सिटीका विद्यार्थी नेपालमा बेसबल संघ भए पनि खेल गतिविधि नभएको सन्देश लिएर फर्किए। त्यसपछि अकामात्सु हिरोआकीको नेतृत्वमा ‘बेसबल प्रमोटिङ ग्रुप’ स्थापना गरियो। त्यही समूह पोखराको अमरसिंह माध्यमिक विद्यालय आए र २० जना विद्यार्थीलाई बेसबल प्रशिक्षण दिए। त्यसपछि विद्यालयले दुई टोली बनाएर प्रतियोगिता नै गरेको थियो।
त्यहीबेला पोखरामा ‘निपोन बेसबल फ्रेन्ड्स क्लब लालीगुराँस संघ’ गठन गरियो। सन् २००१ मा हानाकुरा युया प्रशिक्षक भएर नेपाल आए। युया बेसबल सिकाउन नेपाल आएका पहिलो विदेशी प्रशिक्षक हुन्। उनी करिब १ वर्ष बसेर जापान फर्किए। पछि जापानबाटै सोनोदा केन्या प्रशिक्षक बनेर आएका थिए।
अर्काेतिर, अल नेपाल बेसबल एसोसिएसनले पनि नेपालमा बेसबसलाई उठाउने प्रयास गरिरहेको थियो। त्यही बेला सन् २००२ मा भारतमा अन्तरकलेज बेसबल प्रतियोगिता हुने भएपछि राष्ट्रिय टोली बनाउन प्रहरी विद्यालयमा खेलाडी छनोट गरियो। थापा ४०–५० जनाको समूहबाट उत्कृष्ट प्रदर्शन गर्दै टिममा परे।
“त्यतिखेर पोखराको मात्रै नभइ वीरगन्जतिरका क्रिकेट खेल्ने केटाहरू पनि बेसबल खेल्न आएका थिए। भारतमै बेसबल खेलेर आउनुभएका अभिषेक कार्की सरको नेतृत्वमा हामी पहिलोपटक प्रतियोगिता खेल्न गएका थियौँ,” उनी भन्छन्। कलेजबाट प्रतिनिधित्व गराए पनि त्यो नेपालको पहिलो राष्ट्रिय टोली थियो।
भारतको वेस्ट बंगालमा भएको प्रतियोगिताको लागि ललितपुरको मलपोखरीमा चार महिना क्याप राखिएको थियो। टोलीमा रहेका हरेक सदस्यलाई दैनिक खाजा र यातायात खर्चबाहेक महिनाको पाँच हजार दिइन्थ्यो। थापाले जागिर खाने लक्ष्यका साथ सैनिक क्याडेटको तयारीसँगै बेसबलको प्रशिक्षण पनि गरिरहेका थिए। तर प्रतियोगिताकै बेला परीक्षा हुने भयो। उनी क्याडेटको परीक्षा नदिइ भारत लागे। त्यहाँ नेपाली टोलीले लक्ष्यअनुसार प्रदर्शन गर्न सकेन।
“जागिर खाने सपनालाई त्यागेर प्रतियोगिता खेल्न गएको थिएँ। तर सोचेजस्तो नतिजा नआउँदा कसको मन खिन्न हुँदैन र? खेलको नियम नै हार वा जित हो। यसैमा चित्त बुझाएर बेसबलमै लागिरहेँ,” उनी भन्छन्।
त्यसबेलाको टोलीमा रहेका २१ जना सबै बेसबलबाट पलायन भए। थापा भने बेसबललाई फैलाउन खेलाडी जीवन त्यागेर प्रशिक्षकको रूपमा काम गर्न तीन विभागीय टोलीमा जागिर माग्न पुगे। तर उनलाई पत्याउने कोही भएनन्।

त्यसको एक वर्षपछि उनी पोखरामा बेसबल सिकाइरहेको लालीगुराँस समूहका प्रदीप खातीको सम्पर्कमा पुगे। उक्त समूहले काठमाडौँमा बेसबल प्रमोट गर्न थापालाई प्रशिक्षक बनायो। बेसबलका लागि चाहिने सम्पूर्ण सामग्री पनि उनलाई दिइयो। तर थापालाई खेलाडी खोज्न धौधौ पर्यो। अथक प्रयासपछि जम्मा पारेर बेसबल सिकाएका खेलाडी पनि लामो समय टिकेनन्।
“कोही कलेज पढ्ने र कोही त गाँजा खाएर हिँड्ने केटाहरू जम्मा पारेर बेसबल सिकाएँ। तीमध्ये केही बास्केटबल खेलिरहेका थिए। सिकाउँदै लग्यो, कोही करिअर छैन भनेर छाड्ने, कोही विदेश जान्छु भनेर छाड्ने,” थापा भन्छन्, “जागिर खाने उमेरकालाई खेलाएर केही नहुने रहेछ भनेर मैले स्कुले बालबालिका खोजेर सिकाउन थालेको हुँ।”
तर, उनलाई बालबालिका जम्मा गर्न पनि सजिलो थिएन। क्रेज भएका खेल फुटबल, क्रिकेट, कराते र तेक्वान्दोतिर बालबालिकाको आकर्षण हुन्छ। प्रशिक्षणका क्रममा मुख र हातमा लाग्ने चोटको कारण पनि अभिभावकले बालबालिकालाई यो खेल खेल्न नदिने गरेको अनुभव उनीसँग छ। पछि उनले दुई बालक सगुन खिचाजु र निश्चल केसीलाई प्रशिक्षणको लागि जापान पठाएपछि अभिभावकहरू पनि आकर्षित भए।
“सगुन र निश्चल राम्रो फुटबल खेलाडी थिए। उनीहरूलाई मैले सात वर्षको उमेरदेखि नै बेसबल सिकाएको हुँ। जापानको लगानीमा तीन महिना त्यहीँ बसेर बेसबल सिकेर फर्किए,” उनी भन्छन्, “अहिले पनि प्रशिक्षकदेखि सबै चाहिने सामान जापानबाट आउँछ।”
सन् २००९ मा नेपाल बेसबल र सफ्टबल संघ (एनबीएसए) स्थापना भएको थियो। स्थापना भएदेखि नै एनबीएसएले नेपालमा बेसबल र सफ्टबलको विकास तथा प्रबर्द्धनका लागि काम गर्दै आएको थापा बताउँछन्। एनबीएसएले सन् २०११ मा नेपालका १५ जिल्लामा बेसबल विस्तार गरेको थियो। सन् २०१४ र २०१६ मा जुनियरका तीन वटा र सिनियरका दुई वटा बेसबल प्रतियोगिता सञ्चालन गरेको थियो।
कोरोनाअघि नेपालमा पुलिस र आर्मीको पनि बेसबल टोली थिए। तर राष्ट्रिय प्रतियोगिताहरू हुन छाडेपछि विभागीय टोलीले बेसबल नै हटाए। अन्य जिल्लामा पनि बेसबल खेल्न छाडियो। तर नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिइरहेको छ।
नेपालले सन् २०११ मा पाकिस्तानको लाहोरमा भएको पहिलो संस्करणको सार्क बेसबल कपमा भाग लिएको थियो। लगत्तै १२औँ बीएफए वेस्ट एसिया बेसबल कप खेल्यो। नेपालका लागि ती खेल औपचारिकतामै सीमित रहे। सन् २०१७ मा पाकिस्तानमा भएको १३औँ बीएफए वेस्ट एसिया बेसबल कपमा भने नेपाल सेमिफाइनलसम्म पुगेको थियो। तेस्रो स्थानका लागि भएको खेलमा नेपाल इरानसँग पराजित भयो।
त्यसको दुई वर्षपछि भारतको गुवाहटीमा आयोजना भएको प्रेसिडेन्ट कप बेसबल प्रतियोगितामा नेपालले पहिलोपटक रजत पदक प्राप्त गरेको थियो। त्यो टोलीको प्रशिक्षक थापा नै थिए। प्रतियोगितामा आयोजक भारतका दुई टोली, बंगलादेश र भुटान सहभागी थिए।
नेपाली टोलीले सेमिफाइनलमा बंगलादेशलाई २४–४ ले पराजित गरेर फाइनल पुगेको थियो। तर फाइनलमा भारतसँग १८–४ ले पराजित भयो। प्रतियोगितामा सगुन ‘बेस्ट क्याचर’ घोषित भए। त्यसपछि गत माघमा भएको १५औँ पश्चिम एसिया बेसबल कप २०२३ खेल्न पाकिस्तानको इस्लामाबाद पुगेको टोली रित्तो हात फर्कियो।
करिब १५ वर्षदेखि प्रशिक्षण गराइरहेका थापा बेसबलप्रति क्रेज खस्किनुमा संघ नै दोषी भएको बताउँछन्। संघले गरेको बेवास्थाका कारण खेलाडी पलायन हुने गरेको उनको भनाइ छ।
“संघ बलियो भयो भने खेलले आकार लिने हो। तर, संघ के गरिरहेको छ त्यो थाहा छैन। अहिले राष्ट्रिय प्रतियोगिता गराउन दोस्रो टोली नै छैन। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउनुअघि पर्याप्त अभ्यास पनि गराइँदैन। त्यसैले यो खेल भक्तपुरमा मात्रै खुम्चिँदै गएको छ,” उनी भन्छन्।
अभ्यास गर्ने मैदानको समेत अभाव झेलिरहेका खेलाडीलाई थमथमाएर राख्न गाह्रो परेको उनी बताउँछन्। उनले बास्केटबलमा ल्याएका खेलाडी सगुन र निश्चल केही विद्यालय पुगेर बेसबल जगाउने प्रयासमा छन्।
“हाम्रो पालामा संघले ५ हजार भए पनि दिन्थ्यो। अहिले प्रतियोगिता खेल्न जाँदा पनि आ–आफैँ पैसा उठाउनुपर्ने अवस्था छ,” उनी भन्छन्, “नबुझ्दादेखि नै यसैमा लागियो। बुझ्ने भएपछि छाडेर जान गाह्रो हुने रहेछ। यसैमा जीवन बेतित गर्ने इच्छा छ। तर बेसबेलकै अस्तित्व रहन्छ वा रहँदैन भन्न सकिँदैन।”
तस्वीरहरू : किसन पाण्डे
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
