वसन्त ऋतुका लागि हिमाल आरोहण खुल्ला, १२ टिमले लिए अनुमति

यस वर्षको वसन्त ऋतुमा ६ वटा हिमाल आरोहणका लागि १२ टोलीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।

काठमाडौँ– सरकारले यस वर्षको वसन्त ऋतुका लागि हिमाल आरोहण खुल्ला गरेको छ। पर्यटन विभागका अनुसार मार्च १ (फागुन १७)देखि आरोहण अनुमति दिन शुरू गरिएकोमा अहिलेसम्म ६ वटा हिमाल आरोहणका लागि १२ वटा टोलीले अनुमति लिएका छन्।

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार आरोहण अनुमति लिएका हिमालमा सुर्मा सरोभर (६ हजार ५२३), अन्नपूर्ण प्रथम (आठ हजार ९१), पंगरी गोल्दुम्बा (६ हजार ६२०), मनास्लु (आठ हजार १६३), थोराङ पिक (६ हजार १४४) र सगरमाथा (आठ हजार ८४८.८६) छन्। सरकारले हिमाल आरोहण अनुमतिबाट चार करोड ६८ लाख २१ हजार ३९० रुपैयाँ रोयल्टीबापत राजस्व संकलन गरेको छ।

आरोहण अनुमति लिनेमा अन्नपूर्ण प्रथममा चार वटा टोली छन्। चार वटा टोलीमा २८ पुरुष र १६ महिला गरी ४४ जना रहेका छन्। त्यसबाट सरकारले एक करोड ३९ लाख ७८ हजार २६० राजश्व संकलन गरेको छ।

त्यसैगरी, मनास्लुमा तीन वटा टोलीले अनुमति लिएका छन्। ६ पुरुष र दुई महिला गरी आठ जना छन्।

त्यसैगरी, सगरमाथामा अहिलेसम्म दुई वटा टोलीले आरोहण अनुमति लिएका छन्। दुई टोलीमा १५ पुरुष ६ महिला गरी २१ जना आरोही रहेका छन्। सगरमाथाको आरोहण अनुमतिबाट सरकारले तीन करोड ३७ लाख राजस्व संकलन गरेको छ।

मनास्लु हिमाल आरोहणका लागि तीन टोलीमा ६ पुरुष र दुई महिला गरी आठ जना आरोही छन्। मनास्लु हिमाल आरोहण सबैभन्दा साहसिक हिमालका रूपमा लिइन्छ। मे महिना भरी आरोहण अनुमति दिने विभागले जनाएको छ।

यस वर्षको वसन्त ऋतुको आरोहणका लागि बाटो बनाउने काम एक हप्ताअघिदेखि शुरू भएको छ। सगरमाथा प्रदूषण नियन्त्रक कमिटी (एसपीसीसी)का कार्यकारी निर्देशक छिरिङ शेर्पाका अनुसार आठ जना प्राविधिकसहित १० जनाको टोली खटिएको छ। यो टोलीले आउँदो एक हप्तामा बाटो बनाउने काम पूरा गर्ने शेर्पा बताउँछन्। 

अहिलेसम्म टोली क्याम्प एकमा पुग्न सकेको छैन। खराब मौसमका कारण विगत वर्षमा भन्दा यस वर्ष समस्या भएको उनले बताए। उक्त टोलीले नै सगरमाथा आरोहणका लागि रुट निर्धारण गर्ने काम गर्छ।

त्यसैगरी, आरोहण अनुमति लिएका टोलीले पनि आरोहीलाई लिएर सगरमाथा बेस क्याम्पतर्फ प्रवेश गरेका छन्। नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष निमानोरु शेर्पा आरोहण अनुमति लिएका कम्पनीले सगरमाथा बेस क्याम्पमा सामान पुर्‍याउने काम शुरू गरेको बताए।