चीनको एक विद्यालयमा देखिए ज्याक मा

सन् २०२० मा चीनको आर्थिक नीतिको आलोचना गरेलगत्तै ज्याक मा सार्वजनिक रूपमा देखिएका थिएनन्।

चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा सार्वजनिक जीवनबाट गायबजस्तै भएको तीन वर्षपछि पुनः चीनमा देखिएका छन्। ५८ वर्षीय ज्याक मा चीनको हाङझाओस्थित एक विद्यालयमा देखा परेका हुन्।



हङकङमा साथीभाइसँगको भेटघाट र केही समयको बसाइँपछि उनी चीन फर्किएको बताइएको छ। यस्तै, गत नोभेम्बरमा फाइनान्सियल टाइम्स पत्रिकाले ज्याक मा ६ महिनादेखि जापानको टोकियोमा रहँदै आएको बताएको थियो।



सन् २०२० मा चीनको आर्थिक नीति तथा नियमनबारे आलोचना गरेयता ज्याक सार्वजनिक रूपमा बिरलै देखिन्थे। चीनले प्राविधिक व्यवसायहरूमा कडा मापदण्ड लागू गरेसँगै एकाएक गायब हुने उनी चिनियाँ अर्बपति एवं उच्च व्यक्तित्व हुन्। चीन सरकारको दबाब र नियन्त्रणमा उनी नजर बन्दमा रहेको धेरैको अनुमान थियो।



विदेशको बसाइपछि ज्याक मा हालै चीन फर्किएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। पोस्टले ‘शिक्षामा आर्टिफिसियल इन्टेलिजेन्सको प्रभावबारे छलफलका लागि अलिबाबाका संस्थापक ज्याक मा चीन फर्के’ शीर्षकमा समाचार लेखिएको छ। उनले सन् २०१७ मा आफैँले स्थापना गरेको निजी विद्यालय हाङझाओ युङगुको भ्रमण गरेको पोस्टले जनाएको छ।



भ्रमणका क्रममा ज्याकले आर्टिफिसियल इन्टेलिजेन्स एआईबारे “हामीले एआईलाई समस्या समाधानका लागि प्रयोग गर्नपर्छ, तर एआईबाट नियन्त्रित हुनु हुँदैन” भनेको पोस्टले लेखेको छ। ज्याकले हाल एआईको शुरूआती चरण भए पनि च्याटजीपीटीजस्ता प्रविधिले शिक्षकहरूमा चुनौती थपेको बताएको पोस्टमा उल्लेख छ।



अलिबाबा स्थापना गर्नुअघि ज्याक मा अंग्रेजीका शिक्षक भएको र शिक्षण मनपर्ने पेसा भएकाले कुनै दिन यही पेसामा फर्कनसक्ने ज्याकको इच्छा रहेको पोस्टले जनाएको छ। एकताका चीनकै सबैभन्दा धनी व्यक्ति रहेका ज्याक मा चिनियाँ पत्रिका साउथ चाइना पोस्टका मालिकसमेत हुन्।