पेरिस ओलम्पिक छनोट : दुई टोलीले नाम झिकेपछि नेपालले भियतनामसँग मात्रै खेल्ने

पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबलबाट अफगानिस्तान र प्लालेस्टाइनले नाम फिर्ता लिएका छन्।

काठमाडौँ– सन् २०२४ मा आयोजना हुने पेरिस ओलम्पिक एशियाली छनोटअन्तर्गत महिला फुटबलबाट अफगानिस्तान र प्लालेस्टाइनले नाम फिर्ता लिएका छन्। एशियाली फुटबल महासंघ (एएफसी)ले दुई टोली बाहिरिएको औपचारिक घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो।

समूह 'सी'मा अफगानिस्तान, नेपाल, प्यालेस्टाइन र भियतनाम थिए। छनोट खेल प्यालेस्टाइनमा खेल्ने तय भएको थियो। तर, प्यालेस्टाइनले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि छनोट खेल काठमाडौँमा आयोजना हुने तय भएको थियो। खेल आगामी अप्रिल ३ देखि ११ सम्म हुने बताइएको थियो।

दुई टोली प्यालेस्टाइन र अफगानिस्तानको अनुपस्थितिसँगै समूह 'सी'को ढाँचा पनि परिवर्तन भएको छ। जसअनुसार भियतनाम र नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चैत २२ र दोस्रो खेल चैत २५ गते  दुई खेल खेल्ने छन्। खेल साँझ ६ बजेपछि हुनेछ। शीर्ष स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।

७ समूहका शीर्ष टोलीहरू दोस्रो चरणमा पुग्नेछन्। उनीहरूले सिधै छनोट भएका जापान, अस्ट्रेलिया, चीन, उत्तर कोरिया र दक्षिण कोरियासँग खेल्नेछन्।

समूह विजेता ३ टोलीसँगै उपविजेता मध्येका उत्कृष्ट एक गरी ४ टोलीले तेस्रो चरणमा स्थान बनाउने छन्। तेस्रो चरणका उत्कृष्ट दुई टोली पेरिस ओलम्पिकमा छनोट हुनेछन्।

भियतनाम फुटबल महासंघले ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ। भियतनामको टोली चैत २० गते नेपाल आइपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराए।

नेपालको प्रारम्भिक टोली
एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, विमला विक, सपना राई, अमृता जैशी, हिरा कुमारी भुजेल, निशा थोकर, समीक्षा घिमिरे, प्रीति राई, अनिता बस्नेत, अनिता केसी, विमला चौधरी, दिपा शाही, सरु लिम्बु, रेनुका नगरकोटे, सविता राना मगर, निर्मला विक, सावित्रा भण्डारी, अमिषा कार्की, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रजनी थोकर, पूजा राना, दीपा न्यौपाने, सरस्वती ऐर, सरस्वती हमाल, अन्जली वाइबा, सिर्जना चेम्जोङ, गंगा गुरुङ, मन्जली कुमारी योन्जन, चन्द्रा भण्डारी, प्रतीक्षा चौधरी, मेनुका आले मगर र सारा बज्राचार्य