बर्दिबासबाट पैदलयात्रा गरेर १२ दिनमा काठमाडौँको खुलामञ्च आइपुगेका मिटरब्याज पीडितहरूलाई नगरप्रहरीले गेटमा नै रोक्यो। भित्र धर्ना बस्न नपाएपछि उनीहरूले खुलामञ्चको गेटमा नै रात बिताउने बताएका छन्।
काठमाडौँ– महात्तरीको बर्दिबासबाट चैत २ गते पैदलयात्रा थालेर ७८ वर्षीय अछय राम ११ दिनपछि आइतबार काठमाडौँको मातातीर्थ आइपुगे। मिटरब्याज पीडितहरूको पैदालयात्रा अभियानमा सहभागी भएर उनी पनि काठमाडौँ आइपुगेका हुन्। सप्तरीको सुरंगा नगरपालिका–६ का उनलाई पैदल यात्राकै क्रममा रुघाखोकी र ज्वरोले भेटायो। तर यात्रा त्यागेनन्।
सरकारलाई ‘जगाएर’ पीडितहरूको मर्का बुझाउन हिँडेरै काठमाडौँ आएको उनी बताउँछन्। यति भनिसक्दा उनले एक लहर खोके। खोक्दाखोक्दै शक्ति क्षीण भएर उनी गल्ने गरेका छन्। सोमबार यात्राको १२औँ दिन दिउँसो मातातीर्थबाट पदयात्रामा निस्किएका उनी खोकीका बाबजुद नारा लगाइरहेका थिए।
यता खुलामञ्चमा भने मिटरब्याज पीडितहरूलाई पस्न नदिन महानगरले नगरप्रहरी तैनाथ गरेको थियो। पछि नेपाल प्रहरी पनि थप गरियो। अपराह्न साढे ४ बजे खुलामञ्च पुगेका पीडित त्यहाँभित्र पस्न पाएनन्। त्यहाँ उनीहरूले केही बेर नाराबाजी गरेका थिए।
अछय रामले तीन वर्षअगाडि गाउँकै भगवती चौधरीसँग साढे २ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसमध्ये १ लाख रुपैयाँ फिर्ता गरिसकेका छन्। अहिले चौधरीले कहिले ९ लाख त कहिले १० लाख रुपैयाँ माग्न थालेको उनको गुनासो छ। २ लाख रुपैयाँ ऋण लिँदा सवा २ लाख रुपैयाँ कट्ठा पर्ने ९ कट्ठा जग्गा पास गराएको र एउटा कपाली तमसुक पनि गराएको रामले बताए।

दलित समुदायका रामलाई उक्त तमसुक कति रुपैयाँ बराबरको छ भन्ने थाहा छैन। “म पढेलेखेको छैन, ऋण लिन कागजमा सही गर्नुपर्छ भनेपछि गरिदिएँ, के थाहा मेरो सबैथोक हरण गर्नेछ भनेर, मैले यसको अन्दाज गरेको थिइनँ,” उनले भने।
गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको नेतृत्वमा बनेको ‘मिटर ब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल’ले उजुरी आह्वान गरेपछि उनले भदौ ५ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा निवेदन दिएका थिए। तर त्यसबाट कुनै सुनुवाइ नभएको उनी बताउँछन्।
यो पनि : सरकारको 'देखावटी कदम'ले मिटरब्याजीलाई उन्मुक्ति, पीडितविरुद्ध नै हाल्न थाले मुद्दा
उनका छोरा मजदुरी गर्छन्। तर नियमित काम पाउँदैनन्। घरमा बसेकी ७५ वर्षीया श्रीमतीबारे हिँडेदेखि नै उनलाई चिन्ता लागेको छ। घर छाडेदेखि श्रीमतीसँग कुराकानी हुन नपाएको उनी बताउँछन्।
अब काठमाडौँमा हुने धर्नामा सहभागी हुने उनले बताए। कपाली तमसुक खारेज हुनुपर्ने र ब्याजको ब्याज दिनुपर्ने अवस्थाबाट मुक्ति पाउनु पर्ने उनको माग छ।

न्यायको आशामा बर्दिबासबाट पैदल काठमाडौँ आइपुग्ने ७२ जनाको समूहमा सिरहा गोलबजारकी ३४ वर्षीया पुनितादेवी महतो पनि छिन्। वैदेशिक रोजगारमा गएका श्रीमानको १२ वर्षअघि मृत्यु भएपछि तीन सन्तानको लालनपालनको जिम्मेवारी उनकै काँधमा छ।
पुनिताले २०७३ सालमा सिरहा, गोलबजारकै शारदा देवीबाट ५५ हजार रुपैयाँ ऋण लिएकी थिइन्। सोही स्थानको लघुवित्तबाट ऋण लिएर शारदा देवीको १ लाख रुपैयाँ तिरिन्। तर ऋण नसकिएको भन्दै शारदा देवीले अदालतमा मुद्दा हालिन्। “आठ महिनादेखि लुकेर हिँडेको छु, मलाई जेलमा पठाउन भनेर आदेश आएको छ रे, अदालतबाट ३ लाखको पुर्जी आएको छ, मसँग यत्रो पैसा कहाँबाट हुनु? जायजेथा पनि केही छैन,” उनले भनिन्।
आफू एकल महिला भएकै कारण पनि असहाय भएको उनले गुनासो गरिन्।
यो पनि- मिटरब्याज अपराधको केस–स्टडी : कर्जा लिएको २५ लाख, तिर्नुपर्ने १३ करोड
धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ गोदारबाट आएकी ३५ वर्षीया लक्ष्मी परियारले स्थानीय गणेश जयसवालसँग ३ लाख रुपैयाँ लिएकी थिइन्। १० धुर जग्गासहितको घर बेचेर आफूले पैसा फिर्ता गरिसके पनि आमा दुर्गा परियारको १ कट्ठा जग्गा साहुले कब्जा गर्न खोजिरहेको उनी बताउँछिन्।

२०७४ सालमा १ लाख रुपैयाँ थप ऋण दिने प्रलोभन देखाएर आमसँग कागज गराएको, तर पैसा नदिएको उनको भनाइ छ। त्यही कागजको आधारमा करिब २५ लाख मूल्य पर्ने मिर्चैया–७ फूलबरियामा रहेको १ कट्ठा जग्गामा साहुले कब्जा गर्न खोजेपछि न्याय खोज्दै काठमाडौँ आएको उनको भनाइ छ।
सप्तरीको शम्भुनाथ नगरपालिका–११ राजपुरका ४३ वर्षीय विनोद मण्डलले २०६८ सालतिर स्थानीय रामदेव साहसँग उनले १० लाख रुपैयाँ लिएका थिए। पैसा लिएर उनी वैदेशिक रोजगारीका लागि मलेसिया गए। २०६५ सम्ममा आफूले ३६ लाख रुपैयाँ विदेशबाट नै पठाइदिएको आफूसँग प्रमाणै भएको उनी बताउँछन्। ऋण दिने बेलामा १७ कट्ठा जग्गा आफ्नो नाममा पास गराएका साहुले हालसम्म फिर्ता नगरेको र सीमापारि भारत गएर बस्ने गरेको उनी बताउँछन्।
काठमाडौँ आइपुगेका पीडितहरूले धर्ना गर्ने तयारी गरेका छन्। सोमवार खुलामञ्च पस्न नसकेपछि सडक किनारमै रात बिताउने पदयात्राको अगुवाइ गरिरहेका मनोज पासवानले बताए। “अब अगाडिको कार्यक्रमबारे भोलि तय हुन्छ। आज हामीलाई खुलामञ्च पस्न नदिएपछि यहीँको गेटअगाडि सडकमै रात बिताउने भएका छौँ,” पासवानले भने, “हामीहरूको जाने ठाउँ नै छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
