नेपाली ह्विलचियर टोली सेमिफाइनलमा भारतसँग पराजित

नेपाल भारतसँग ४ विकेटले पराजित भएको टोली व्यवस्थापक कुमार पौडेलले बताए।

काठमाडौँ– नेपाल पुरुष टोली ह्विलचियर क्रिकेट प्रतियोगितामा पराजित भएको छ। सोमबार भएको खेलमा नेपाल भारतसँग ४ विकेटले पराजित भएको टोली व्यवस्थापक कुमार पौडेलले जनाएका छन्।

भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो। जवाफमा भारतले १३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेटायो।

हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, वरुण बुढा मगर र राजु कटुवाल रहेका छन्।