गृह मन्त्रालयले भन्यो– मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन

मिटरब्याज पीडितका समस्या समाधानका लागि धेरै कानूनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताएका छन्। 

काठमाडौँ– गृह मन्त्रालयले मिटरब्याज पीडितका समस्या तत्काल समाधान नसकिने जनाएको छ।

उक्त समस्या समाधानका लागि धेरै कानूनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए।

मंगलबार सरकारको प्रतिनिधित्व गर्दै प्रदर्शनस्थलमा पुगेका शर्माले मिटरब्याज पीडितको समस्या वर्तमान कानूनले सम्बोधन नहुने स्पष्ट पारे। सो क्रममा पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटाइदिन आग्रह गरेका थिए।

मिटरब्याज पीडितको समस्या लामो समयदेखिको भएकाले क्षणमरमै समाधान हुन नसक्ने सहसचिव शर्माको भनाइ छ। “असोज १ गते पाँच बुँदे सम्झौता भएको छ। आजको भोलि समस्याको समाधान हुँदैन,” उनले भने, “केही जिल्लाका प्रमुख जिल्ला अधिकारीको सक्रियता कम भएको गुनासो उहाँहरूले गर्नुभएको छ। त्यो विषयमा कुराकानी गर्नेछौँ।”

वर्तमान कानूनले यो समस्या समाधान नहुने उनको भनाइ छ। “कानून बनाउने विषय अघि बढ्दै छ। धेरै दिन बस्नुपर्दैन,” सहसचिव शर्माले भने, “उहाँहरूका समस्या छिटै समाधान हुन्छन्। प्रधानमन्त्रीसँग भेट्ने कुरा गर्नुभएको छ। भेटाउन म प्रधानमन्त्रीसँग कुरा गर्नेछु।”

पैदल हिँडेर सोमबार काठमाडौँ आइपुगेका पीडितले आज बिहानैबाट प्रदर्शन शुरू गरेका छन्।