जर्मनीले युक्रेनलाई पठायो अत्याधुनिक युद्ध ट्यांक

जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले 'लियोपर्ड–२' ट्यांकले रुससँगको युद्धमा युक्रेनलाई महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

जर्मनीले युक्रेनमा 'लियोपर्ड–२' युद्ध ट्यांक पठाएको छ। युद्धमा अग्रभागमा प्रयोग हुने 'एटिन कटिङ–एज' ट्यांक पहिलो पटक युक्रेनलाई पठाइएको र चालक दललाई चलाउने प्रशिक्षणसमेत दिइएको जर्मनीको रक्षा मन्त्रालयले जनाएको छ।

रुससँगको युद्धमा लिपोपर्ड–२ ट्यांकले महत्त्वपूर्ण योगदान पुर‍्याउनेमा आफू विश्वस्त रहेको जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसको भनाइ छ। रक्षामन्त्री पिस्टोरियसले भने, “युक्रेनी मित्रलाई प्रतिबद्धता गरिएअनुसार लियोपर्ड ट्यांकसहितका युद्ध सामग्री समयमै उहाँहरूको हातमा पुर‍्याएका छौँ।”

यसअघि जर्मनीले जनवरीमा यस्ता ट्यांक युक्रेनमा पठाउने प्रतिबद्धता जनाएको थियो। जर्मनीको कानूनअनुसार लियोपर्ड–२ ट्यांकहरू अन्य मुलुकमा पुन: निर्यातका गर्नुपरे बर्लिनको अनुमति चाहिन्छ।

यता, बेलायतले पनि 'चेन्जर–२' ट्यांक युक्रेन पठाइसकेको युक्रेनी अधिकारीहरूले सुनिश्चत गरेका छन्। जर्मनीले पठाएका ट्यांकहरूबारे युक्रेनी प्रतिक्रिया आउन बाँकी छ।

रुसविरुद्ध लडाइँका लागि भन्दै युक्रेनले अत्याधुनिक सवारी र हतियार प्रणाली सहयोग गर्न मित्रराष्ट्रहरूलाई आग्रह गर्दै आएको छ। युद्धमा क्रममा सबैभन्दा राम्रो मानिने लियोपर्ड–२ ट्यांकहरू हाल युरोपेली देशहरूमा प्रयोगमा छन् भने उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)मा आबद्ध मुलुकहरूले निर्माण गर्दै आएका छन्।

योसँगै जर्मनीले अन्य दुई वटा विशेष प्रकारका र ४० वटा 'मार्डर इन्फ्यान्ट्री' सवारी युक्रेन पठाएको बीबीसीले जनाएको छ।

लियोपर्ड २ ट्यांकका विशेषता
लियोपर्ड–२ ट्यांकको चालक दलमा चार जना सदस्य हुन्छन् भने यसको वजन ६७ टन हुन्छ, जुन युक्रेनी ट्यांकहरूको तुलनामा निकै बढी हो। साथै, 'मल्टिलेयर्ड कम्पोजिट आर्मर' रहने यस ट्यांकमा १२० एमएमका नेटो एम्युनिसन प्रयोग हुन्छ।

हाल युक्रेनले केबल एक जना चालक रहेको कम वजनको ट्यांक प्रयोग गरिरहेको छ। रुसले लडाइँमा प्रयोग गरेका टी–नाइन्टी ट्यांकसँग टक्कर दिन विशेष डिजाइनमा बनाइएका यी ट्यांकहरू प्रयोग र मर्मतका लागि सहज हुनुका साथै इन्धन खपत पनि कम गर्ने बताइएको छ।

यो ट्यांकको सञ्चालनका लागि युक्रेनी ट्यांक क्रुहरूलाई केही सातादेखि नै प्रशिक्षण गरिएको जर्मन सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।