ताइवानकी राष्ट्रपति साईले ताइवानलाई अन्तर्राष्ट्रिय समुदायसँग घुलमिल हुन कुनै बाहिरी दबाबले फरक नपर्ने बताएकी छन्। ताइवानले स्वतन्त्रता र प्रजातन्त्रको रक्षा गर्ने उनको भनाइ छ।
चीनले ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी सभामुखसँग भेटे त्यसको बदला लिने चेतावनी दिएको छ। साथै, साईको भ्रमणको 'ट्रान्जिट' अमेरिकी विमानस्थललाई नबनाउन चीनले अमेरिकालाई आग्रहसमेत गरेको छ। यस्तो कार्य आफूलाई उक्साउनुजस्तै हुने चीनको भनाइ छ।
मध्य अमेरिकी मित्र राष्ट्रहरू ग्वाटेमाला र बेलिजको १० दिने भ्रमणका लागि साई बुधबार निस्किएकी हुन्। भ्रमणका क्रममा अमेरिकाका न्युयोर्क र लस एन्जेलसमा गरी दुई वटा ट्रान्जिट परेका छन्। ट्रान्जिटमा उनले अमेरिकी सभामुखलाई भेट्ने अनुमानबीच चीनले चेतावनी दिएको हो।
भ्रमण तालिकामा पनि अमेरिकी सभामुख केभिन म्याकर्थीसँग भेट्ने विषय उल्लेख भएको चीनले जनाएको छ। यद्यपि, उनको भ्रमण तालिका आधिकारिक रूपमा सार्वजनिक भएको छैन। उनी भ्रमणका लागि निस्कनुको केही घण्टाअघि मात्रै चीनले चेतावनी दिएको द गार्डियनले लेखेको छ।
चीनको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङलियानले पत्रकार सम्मेलनमा भने, “साईले अमेरिकी सभामुखलाई भेट्नु चीनलाई उक्साउने अर्को बहाना हो, यसले एक चीन नीति, सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन गर्छ। साथै, ताइवानको शान्ति र स्थायित्वमा खलल पुर्याउँछ। यस कुराको हामी कडा विरोध गर्दछौँ र प्रतिकारका कदम चाल्न प्रतिबद्ध छौँ।”
भ्रमणमा निस्किनुअघि साईले मिडियासँग कुरा गर्दै बाहिरी दबाबले ताइवानलाई विश्वसँग घुलमिल हुनबाट नरोक्ने स्पष्ट पारेकी थिइन्। ताओयान विमानस्थलमा ग्वाटेमाला र बेलिजका राजदूतहरूसँग रहेका बेला साईले भनिन्, “ताइवानले स्वतन्त्रता र प्रजातन्त्रको रक्षा गर्नेछ। विश्वमाझ जाने ताइवानको प्रतिबद्धता झनै बलियो बनिरहेको छ। हामी शान्त, दृढ, अटल, आत्मविश्वासी र गैरउत्तेजक छौँ।”
साइले थपिन्, “अन्तर्राष्ट्रिय समुदायलाई ताइवानको खाँचो पर्दा ताइवानले योगदान पुर्याउनेछ र ताइवान अप्ठ्यारोमा पर्दा साझेदार र मित्रराष्ट्रहरूले सहयोग गर्नेछन्।”
यता, चिनियाँ पत्रिका ग्लोबल टाइम्सले ताइवानी राष्ट्रपति साइको धोखापूर्ण भ्रमणविरुद्ध ३० भन्दा बढी राजनीतिक पार्टीले मंगलबार ताइवानमा प्रदर्शन गरेको जनाएको छ। अमेरिकी राजनीतिक नेता र डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) बीचको निकटताले ताइवानलाई हानि पुर्याउने भन्दै प्रदर्शन भएको समाचारमा उल्लेख गरिएको छ। केही प्रदर्शनकारीले ताइवानको स्वतन्त्रता, ताइवानको समस्या समाधानमा चीनसँगको एकीकरण उचित मार्ग हुने पनि भन्दै नाराबाजी पनि गरेको ग्लोबल टाइम्सले जनाएको छ।
यता, ताइवानको लेबर पार्टीका अध्यक्ष एवं चीन–ताइवान शान्ति फोरमका संयोजक वु यङ युआन भन्छन्, “राष्ट्रपति साईलाई राम्रोसँग थाहा छ, ताइवानको स्वतन्त्रता भनेको आत्मघाती कार्य हो। तर, यसलाई पछ्याउने नागरिकहरूलाई उनले धोका दिइरहेकी छिन्। अमेरिका विश्वकै ठूलो युद्धप्यासी र विश्वको शान्ति भंग गर्ने देश हुनुका साथै विश्वका सबै मानिसको साझा शत्रु हो भन्ने कुरा पनि उनले राम्रोसँग बुझेकी छिन्। तर उनले जानाजान यस टापुका मानिसलाई आगोमा धकेलिरहेकी छिन्। उनी र अमेरिकी मेलमिलापको किन विरोध भएको हो भन्ने कुरा यसैबाट थाहा हुन्छ।”
एक चीन नीति चीनको आन्तरिक घोषणा हो, जसले ताइवानमाथि चीन सरकारको दाबीलाई स्पष्ट गर्छ। चीनले ताइवानलाई आफ्नो देशको एक भूभाग भन्दै आएको छ भने, ताइवानले आफू एक स्वतन्त्र र सार्वभौम देश भएको दाबी गर्दै आएको छ। साथै, ताइवानलाई चीनको शत्रु राष्ट्र अमेरिकाले साथ दिएको कुरा चीनलाई मन परेको छैन। ताइवान र चीनको मामिलामा बीचमा नपर्न चीनले अमेरिकालाई सचेत बनाउँदै आएको छ। तर अमेरिकाले ताइवानको साथ नछोड्ने प्रतिबद्धता जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
