‘गठबन्धनमा लागे एकीकृत समाजवादी धुलो हुन्छ भन्दा कसैले मानेनन्। मानिसलाई नशा लागेपछि कुरो नसुन्दोरहेछ।’
नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपाने पार्टीमा माधवकुमार नेपाल र झलनाथ खनालपछि तेस्रो वरीयतामा छन्। तर, उनी लामो समयदेखि ‘तन पार्टीमा मन अन्तै’को अवस्थाबाट गुज्रिइरहेका छन्। उनीसहित उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चूडामणि जंगलीले पहिलेदेखि नै पूर्वपार्टी एमालेसँग मिलेर जानुपर्ने मत पार्टीमा राख्दै आएका छन्। तर, यसको ‘सुनुवाइ’ नभएपछि केदार न्यौपाने र चूडामणि जंगलीले असहमति राख्दै पार्टीबाट दिएको राजीनामा मंगलबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले स्वीकृत गरिसकेको छ। मुकुन्द न्यौपानेलाई पार्टीले स्पष्टीकरण सोधेको छ। गत वैशाखको स्थानीय तहको निर्वाचनअघि ३३ बुँदे फरक मत राखेयता निरन्तर फरक मत राख्दै आएका न्यौपानेसँग उकालोका लागि बीपी अनमोलले गरेको संक्षिप्त कुराकानी:
तपाईंलाई त पार्टीले स्पष्टीकरण सोधेछ नि?
हो, तर यो स्पष्टीकरणको अर्थ छैन। जनताले नै मंसिर ४ को निर्वाचनमा एकीकृत समाजवादीसँगै प्रष्टीकरण मागिसके। मैले त केन्द्रीय कमिटी बैठकमै ३३ बुँदे फरक मत पेस गरेको थिएँ। एक देश एक कम्युनिस्ट पार्टी आजको आवश्यकता हो, त्यसका लागि एमालेसँग एकता गर्नुपर्छ भन्दै आएको छु। स्थानीय तह निर्वाचनअघि फरक मत प्रस्तुत गर्दा नै मैले यो गठबन्धन होइन गठबन्धन हो भनेको थिएँ। गठबन्धनमा लागे एकीकृत समाजवादी धुलो हुन्छ भन्दा कसैले मानेनन्। मानिसलाई नशा लागेपछि कुरो नसुन्दोरहेछ। आखिर निर्वाचनमा समाजवादीले थ्रेसहोल्ड नै कटाउन सकेन। जनताले जमानत जोगाइ दिएनन्। हाम्रो विद्रोहलाई स्वीकार गरेनन्। कम्युनिस्ट पार्टीले जनताको इच्छाभन्दा बाहिर जान हुँदैन। अहिले मेरो लडाइँ पनि त्यही हो।
तपाईंको कुरा त पार्टी र नेतृत्वले सुनेन नि, अब के गर्नुहुन्छ?
सुनाउने प्रयास गर्ने हो, नसुने मैले के भन्नु। हिजो माओका कुरा पनि सुनिएको थिएन, तर पछि माओकै कुरामा गए नि। अहिले मैले फरक मत राख्दैगर्दा मेरो कुरा सुनिएन वा भोलि सुनिएला, त्यो आफ्नो ठाउँमा छ। तर, समय सबभन्दा बलवान् छ। २० लाख भोट आउँछ भनेर हाम्रो अध्यक्षले चुनावका बेला विभिन्न आमसभामा भाषण गर्नु भएको थियो। त्यो त भएन। जनताले त पत्याएनन्। पार्टीले तीन प्रतिशत मतको थ्रेसहोल्ड पनि कटाउन सकेन।
अब एमालेमै फर्कनुपर्छ भन्ने तपाईंको जोड हो?
म अहिले मात्र होइन, वैशाखदेखि नै पार्टीभित्र फरक मत राखिरहेको छु। लडिरहेको छु। दुई लाइनको संघर्षले के गर्छ, हेरौँ। अर्को कुरा, एमाले बनाउने मदन भण्डारी, मुकुन्द न्यौपाने, मनमोहन अधिकारीहरू हो। हामी एमालेमा फर्कने भन्ने नै होइन, हामी शुरुदेखि नै एमाले हो नि। अहिले हामीले भन्दै आएको कुरा के मात्र हो भने एमालेलाई पनि मिलाएर जानुपर्छ भन्ने हो। एकीकृत समाजवादी पार्टीले यो कुरा मिलाउँदैन भने त एमालेसँगै मिलेर जाने हो।
एमालेका नेताहरूसँग यसबारे छलफल गरिरहनुभएको छ?
हामीले छलफल त सबै कम्युनिस्ट पार्टीहरूसँग गरिरहेका छौँ। एमाले, माओवादीलगायत जति पनि कम्युनिस्ट पार्टीहरू छन्, सबैलाई एउटा पार्टी बनाएर जाऔँ भन्ने हाम्रो मुख्य जोड हो। अझ विप्लवसहितको माओवादीलाई पनि मिलाउनुपर्छ भन्ने हो। त्यही भएर त मैले ‘एक देश एक कम्युनिस्ट पार्टी’ बन्नुपर्छ भनिरहेको छु। सबै पार्टी मिलेर एक हुनुपर्छ भन्ने अभियान अघि बढाउँदै गर्दा एमालेका नेताहरूसँग पनि छलफल नहुने कुरै भएन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
