प्रधानमन्त्रीले तत्काल मिटरब्याज पीडितलाई भेट्नुपर्छ : विश्वप्रकाश शर्मा

मिटरब्याज पीडितका मुद्दा सम्बोधनका लागि संसद्‍बाट छिटो भन्दा छिटो आवश्यक कानून निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा महामन्त्री शर्माको जोड छ।

काठमाडौँ– काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याज पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन्।

भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी पीडितलाई तत्काल भेटेर समस्या सुन्नुपर्ने बताएका हुन्।

“उहाँहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गर्न ११ दिन लगाएर तराईबाट हिँड्दै आउनुभएको हो,” उनले भने, “पीडितलाई प्रधानमन्त्रीले भेट गर्नु भनेको उनीहरूको मुद्दा सम्बोधनको प्रक्रिया शुरू हुनु हो।”

मिटरब्याज पीडितले उठाएका मुद्दा सम्बोधनका लागि आवश्यक कानून निर्माण गर्न संसद्‌मा छिटो भन्दा छिटो प्रक्रिया अघि बढाउनुपर्नेमा महामन्त्री शर्माको जोड छ।

लोकतन्त्रमा कतिले बोल्न पाए भन्ने नभई बोलेका कुरा राज्यले कति सम्बोधन गर्‍यो भन्नेकुरा मुख्य रहेको उनको भनाइ छ।