बीसीसीआईले यस सिजनको आईपीएलमा इम्प्याक्ट प्लेअर नियम लागू गरेको छ। यो नियमसँगै टोलीले टसपछि इनिङ्सको कुनै पनि मोडमा प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गर्न सक्ने छन्।
गत संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को आफ्नो अन्तिम लिग खेलमा कोलकाता नाइट राइडर्सलाई जितका लागि ६ बलमा २१ रन आवश्यक थियो। डाक्टर डी वाई पाटिल स्पोर्ट्स एकेडेमीमा टस जितेर ब्याटिङ गरेको लखनऊ सुपर जायन्ट्सले दक्षिण अफ्रिकी विकेटकिपर-ब्याट्सम्यान क्विन्टन डी ककको १४० र कप्तान केएल राहुलको अविजित ६८ रनको इनिङ्ससँगै कोलकातालाई २११ रनको लक्ष्य दिएको थियो।
लखनऊमाथि जित निकाल्दै प्लेअफमा पुग्ने दाउमा थियो कोलकाता। तर, फराकिलो लक्ष्य पछ्याएको कोलकताले राम्रो शुरूआत गर्न सकेन। पहिलो ओभर पूरा नहुँदै कोलकाताले भैक्टेश अय्यरलाई शून्य र अभिजित तोमरलाई चार रनमा गुमायो। यद्यपि, नितिश राणाले ४२, कप्तान श्रेयस अय्यरले ५०, साम बिलिङ्सले ३६ रनको योगदान दिएसँगै कोलकाताले १५.४ ओभरमा ६ विकेट गुमाउँदै १५० रन बनायो।
साम आउट भएपछि क्रिजमा आएका थिए, वेस्ट इन्डिजका आक्रमक ब्याट्सम्यान किरण पोलार्ड। तर, उनी टिक्न सकेनन्। १६.४ ओभरमा उनी मोहन्सिन खानले फ्याँकेको बलमा ५ रनमा दीपक हुड्डाबाट क्याच आउट भए। त्यसपछि कोलकाता मुस्किलमा परेको थियो।
तर, सातौँ नम्बरमा क्रिजमा उत्रिएका रिन्कु सिंह र सुनिल नारायणले कोलकातालाई जितनजिक पुर्याए। मार्कस स्टोइनिसको अन्तिम ओभरको पहिलो चार बलमा रिन्कुले ४, ६, ६, २ रन प्रहार गरे। पाँचौ बलमा इभिन लुइसबाट रिन्कु क्याच आउट भए। उनले त्यसअघि सुनिलसँग १९ बलमा ५८ रनको साझेदारी गरेका थिए। जितका लागि कोलकातालाई अब अन्तिम बलमा तीन रन आवश्यक थियो। तर, स्टोइनिसको बललाई उमेश यादवले जज गर्न सकेनन् र अफ स्टम्प ढल्यो।
“हामी लगभग जितनजिक थियौँ। तर, रिन्कु इभिन लुइसको शानदार क्याचमा आउट भए,” कोलकाताका सीईओ भेन्की मैसुर त्यो खेललाई सम्झिँदै भन्छन्, “तर, अझै एक बल खेल्न बाँकी थियो र तीन रन आवश्यक थियो। उमेश यादव ब्याटिङ गर्न गए। त्यहाँ इम्प्याक्ट प्लेअरको नियम भएको भए हाम्रो प्रशिक्षकले उमेशको स्थानमा अर्को ब्याट्सम्यान पठाउन सक्थे र यसले सम्पूर्ण समीकरण बदल्न सक्थ्यो।”
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले यस सिजनको आईपीएलमा इम्प्याक्ट प्लेअर नियम लागू गरेको छ। यस नियमसँगै टोलीले टसपछि इनिङ्सको कुनै पनि मोडमा प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गर्न सक्ने छन्।
तर, आईपीएलमा चार जना विदेशी खेलाडीले मात्र खेल्न पाउने नियम छ। त्यसैले प्लेइङ ११ मा चार विदेशी खेलाडी भए इम्प्याक्ट प्लेअर भारतीय खेलाडी हुन सक्छन्। नयाँ नियमको उद्देश्य भारतीय खेलाडीहरूलाई थप अवसर दिन भएको बताइएको छ, विशेष गरी अनक्याप्ड र प्लेइङ ११ मा स्थान बनाउन नसक्नेलाई।
बीसीसीआईले सन् २०२२ को सैयद मुश्ताक अलि ट्रफीमा इम्प्याक्ट प्लेअर नियम लागू गरेको थियो। त्यति बेलाको सर्त अहिलेभन्दा फरक थियो। टोलीले टसअघि इम्प्याक्ट प्लेअर घोषणा गर्नुपर्ने नियम थियो। उसलाई इनिङ्सको १४औँ ओभरअघि क्रिजमा भित्र्याउनु पर्ने नियम बनाइएको थियो।
मुश्ताक अलि ट्रफी हेरिसकेका धेरै फ्रान्चाइजी प्रशिक्षकलाई आईपीएलमा भित्र्याउन लागिएको यो नियमले उत्साहित बनाएको छ। रोयल च्यालेन्जर्स बैंग्लोरका निर्देशक माइक हेसन भन्छन्, “अक्सनअघि यो नियमबारे सुनेका थियौँ। त्यसैले हामीले यसलाई कसरी सदुपयोग गर्ने भनेर सोचिरहेका छौँ।”
इतिहासलाई हेर्ने हो भने, आईपीएलका फ्रेन्चाइजी टोलीहरूले प्लेइङ ११ मा चार विदेशी खेलाडी राख्ने गरेका छन्। तर, सन् २०१९ बाट नयाँ प्रचलन शुरू भएको छ। सन् २००८ देखि ५२ खेलमा मात्रै तीन या कम विदेशी खेलाडीलाई प्लेइङ ११ मा समावेश गरिएको छ। र, तीमध्ये पछिल्ला चार सिजनमा भएका ३७ खेलहरू हुन्।
यस वर्ष बलियो विदेशी बेन्च भएको टोलीले तीन विदेशी खेलाडीबाट खेल शुरू गर्न सक्छ र चौथोलाई आवश्यकताअनुसार प्रयोग गर्न सक्छन्।
धेरैले यो नियम आईसीसीले सन् २००५ मा ट्रायलको रूपमा ल्याइएको सुपरसब जस्तै भनेका छन्, जहाँ टोलीलाई खेलमा १२औँ खेलाडी प्रयोग गर्न अनुमति दिइएको थियो। तर, टोलीहरूले टसअघि प्लेइङ ११ र सुपरसबको लिस्ट बुझाउनुपर्थ्यो।
त्यसबेला आईसीसीले अलराउन्डरको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले यो नियम ट्रायलको रूपमा ल्याएको थियो। तर, टोलीहरूले सुपरसबमा अनुभवी खेलाडी प्रयोग गर्न थाले। यसले टस जितेर ब्याटिङ या बलिङ गर्ने टोलीले सुपरसबको फाइदा उठाउन थाले। तर, विपक्षी टोलीको सुपरसबले कम प्रभाव पार्न थाल्यो।
त्यसैले आईसीसीले सुपरसब नियम खारेज गर्यो। आईसीसीका महाप्रबन्धक डेभ रिचर्डसन भन्छन्, “टोलीहरूले विकल्पका रूपमा अनुभवी खेलाडी छनोट गर्न थाले र टसको महत्त्व बढायो।”
सुपरसबका लागि अलराउन्डर उपयुक्त हुने भए पनि टसपछि इम्प्याक्ट प्लेअर र प्लेइङ ११ को निर्णयले पनि दुई प्रकृतिका खेलाडीको आवश्यकता कम हुने विज्ञहरू बताउँछन्। आईपीएल २०२३ शुरू हुनुभन्दा एक महिना पहिला बीसीसीआईले फ्रेन्चाइजीहरूलाई टसपछि प्लेइङ ११ घोषणा गर्न सकिने बताएको थियो। त्यसैले यो सिजन कप्तानले टसको समयमा दुई फरक टोली ल्याउन सक्छन्। एउटा पहिले ब्याटिङ गरिरहेको अवस्थामा र अर्को उनीहरूले पहिले बलिङ गरिरहेका छन् भने।
आईपीएलमा टसपछि टिम घोषणा गर्नुको एउटै उद्देश्य खेललाई सहज बनाउनु हो। विशेष गरी भारतीय मैदानहरूमा जहाँ दोस्रो इनिङ्समा शीत पर्छ र बलरहरूलाई गाह्रो हुन्छ। भारतका आईपीएल खेलिने १२ मैदानहरूमा शीतले नतिजा प्रभावित पार्न महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले शुरूआती ११ मात्र नभई इम्प्याक्ट प्लेअर छनोटलाई पनि असर गर्छ।
बलियो शुरूआतको अवस्थामा एक पावर हिटरलाई फाइदा उठाउने उद्देश्यले मैदान पठाउन सकिन्छ। यदि पिचले स्पिनलाई साथ दिन्छ र प्लेइङ ११ मा शुरूमा तीन जना फास्ट बलर छन् भने तीमध्ये एकको सट्टा स्पिनर ल्याउन सकिन्छ। त्यसैले अहिले यो नियमलाई फ्रेन्चाइजीहरूले कसरी प्रयोग गर्छन् भन्नेमा सबैको उत्सुकता बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
