सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच वार्ता शुरू

सरकारले गठन गरेको वार्ता समिति र संघर्ष समितिबीच गृह मन्त्रालयमा वार्ता शुरू भएको हो। यसअघि बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।

बिहीबारको वार्तापछि संघर्ष समितिको वार्ताटोली। फाइल तस्वीर

काठमाडौँ– सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो दिनको वार्ता शुरु भएको छ।

सरकारले गठन गरेको वार्ता समिति र संघर्ष समितिबीच गृह मन्त्रालयमा बिहान ९ बजेबाट वार्ता शुरू भएको हो। यसअघि बिहीबार भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।

वार्तामा सरकारी टोलीको नेतृत्व गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडिततर्फको नेतृत्व मनोजकुमार पासवानले गरेका छन्। बिहीवारको वार्तामा संघर्ष समितिले सरकारी टोलीसमक्ष नौ बुँदे माग राखेको थियो। त्यसैमा छलफल गरी निचोड निकाल्ने संघर्ष समितिका एक सदस्यले बताए।

यो पनि: मिटरब्याज पीडितलाई घर फर्काउने हतारोमा सरकार, पीडितको अडान– स्थायी समाधानबिना काठमाडौँ छाड्दैनौँ

महोत्तरीबाट ११ दिन पैदल हिँड्दै काठमाडौँ आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरुसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन गरेको थियो। मिटरब्याजविरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज पीडितहरूको पक्षमा कानून निर्माण गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको स्रोत खोजी गरी कानून निर्माण गर्न माग गरेको छ।

त्यस्तै, साहुकारहरूको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानूनी व्यवस्था गर्न पनि संघर्ष समितिले माग गरेको छ। पीडक साहुकारमाथि ठगी र विश्वसघातका मुद्दा दर्ता सहज ढंगबाट हुने व्यवस्था गर्नुपर्ने, अदालतबाट पक्राउ पुर्जी काटेको हकमा उल्लेखित प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा जाने व्यवस्था गर्नुपर्ने, तमसुकका आधारमा अदालतमा चलाइएको मुद्दा तत्काल स्थगन गर्नुपर्ने लगायत माग पीडितहरूको छ।