ट्रम्प फौजदारी अभियोग लाग्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन्। आफू निर्दोष रहेको र अभियोग लागे पनि राष्ट्रपतिको उम्मेदवारबाट पछि नहट्ने ट्रम्पको भनाइ छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता भएको छ। म्यानह्याटनको ग्राण्ड जुरीले उनीविरूद्ध अभियोग दर्ता गरेको हो।
यससम्बन्धमा उनी आगामी मंगलबार न्युयोर्क अदालतमा उपस्थित हुँदै छन्। त्यहाँ उनको औँलाका छाप संकलन गरिने, फोटो खिच्ने र पक्राउका लागि तयारी हुनेछ। त्यहाँ उनकी पूर्वश्रीमती पनि उपस्थित हुनसक्ने अनुमान गरिएको द गार्डियनले जनाएको छ।
ट्रम्पविरूद्ध अभियोग दर्तापछि डेमोक्रेटहरूले कानूनभन्दा माथि कोही छैनन् भनेका छन्। पोर्न स्टार स्ट्रोमी ड्यानिल्ससँगको अनैतिक सम्बन्ध लुकाउन ट्रम्पले उनलाई पैसा दिएको आरोप छ। ट्रम्प र ड्यानियल्सबीचको अनैतिक सम्बन्ध लुकाउन र मौन बस्न भन्दै ड्यानियल्सलाई १ लाख ३० हजार डलर दिएको आरोप छ। ड्यानियल्सले पनि ट्रम्पले आफूलाई मौन बस्न पैसा दिएको दाबी गर्दै आएकी छिन्।
योसँगै ट्रम्प कुनै पनि फौजदारी अभियोग लाग्ने अमेरिकाका पहिलो पूर्वराष्ट्रपति बनेका छन्। ट्रम्प सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार हुन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन। यद्यपि, उनीविरूद्ध पोर्न स्टारको विषयबाहेक व्यावसायिक ठगीसँग सम्बन्धित ३० भन्दा बढी मामिला जोडिएको सीएनएनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
ट्रम्पले भने आफू पूर्ण रूपमा निर्दोष रहेको बताउँदै आएका छन्। साथै, आफूविरूद्ध अभियोग लागे पनि राष्ट्रपतिय चुनावको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्। ट्रम्पले विज्ञप्ति जारी गर्दै, आफू राजनीतिक उत्पीडनमा परेको र चुनावमा इतिहासकै सबैभन्दा ठूलो हस्तक्षेप भएको बताएका छन्।
यसैबीच, ट्रम्पले न्युयोर्कमा मंगलबार हुने सुनुवाइ निष्पक्ष नहुने बताएका छन्। “म अमेरिकी जनताको पक्षमा उभिएँ भनेर उनीहरूले सबै झुटा, भ्रष्ट र लज्जाजनक मुद्दा चलाएका छन्। उनीहरूलाई थाहा छ न्युयोर्कमा मेरो निष्पक्ष सुनुवाइ हुनेछैन” ट्रम्पले सामाजिक सञ्जाल ट्रूथ सोसियलमा लेखेका छन्।
यता, पाम बिच मार–ए–लागोस्थित ट्रम्पको निवास बाहिर उनका समर्थकहरूले ऐक्यबद्धता जनाउन र्याली गरेका छन्। बिहीबार राती पनि फ्लोरिडामा उनका समर्थकले सन् २०२४ को चुनावी अभियानका झण्डा बोकेर समर्थन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
