संघर्ष समितिका तर्फबाट वार्ता टोलीमा सहभागी रामरिझन यादवले प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितलाई भेटेर सम्बोधन गर्ने सन्देश पठाएपछि शनिबार निष्कर्षमा पुग्ने गरी वार्ता स्थगित भएको बताए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज पीडितलाई भेटेर छलफल गर्ने सन्देश पठाएपछि सरकारी वार्ता टोली र मिटरब्याज पीडित संघर्ष समितिबीचको वार्ता स्थगित भएको छ। मिटरब्याज पीडित संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ताबीचको दोस्रो दिन शुक्रबार बिहान ८ बजेदेखि २ बजेसम्म सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता चलेको थियो। पहिलो दिन बिहीबार सहमति जुट्न नसकेपछि शुक्रबार पुनः दुवै पक्ष वार्तामा बसेका हुन्।
संघर्ष समितिको तर्फबाट वार्ता टोलीमा सहभागी रामरिझन यादवले प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितलाई भेटेर सम्बोधन गर्ने सन्देश पठाएपछि शनिबार निष्कर्षमा पुग्ने गरी वार्ता स्थगित भएको बताए। “प्रधानमन्त्रीको सन्देश आएपछि शनिबार दिउँसो पुनः बस्ने गरी आजको छलफल रोक्यौँ, भोलि एउटा सहमतिमा पुग्ने कुरामा हामी आशावादी छौँ” यादवले उकालोसँग भने।
उनका अनुसार सरकारी वार्ता टोलीका सदस्य र मिटरब्याज पीडित संघर्ष समितिबीच यसअघि पेस गरिएको नौ बुँदे मागपत्रका बुँदामा दफावार छलफल भएको थियो। सरकारी वार्ता टोली कुनै पनि बुँदामा विमति नजनाएको उनको भनाइ छ। “सम्बोधन गर्नुपर्ने विषयको रूपमा स्वीकार गर्नुभयो, त्यस कारणले वार्ता सकारात्मक भएको भन्न सकिन्छ,” उनले भने।
संघर्ष समितिका तर्फबाट वार्तामा गएको मनोजकुमार पासवान नेतृत्वको वार्ता टोलीमा यादवसहित संघर्ष दाहाल, श्यामकुमारी चौधरी र छेदीलाल पासवान सदस्य छन्। सरकारी वार्ता टोलीमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल छन्।
वार्ता चलिरहँदा नयाँ बानेश्वरमा प्रदर्शनमा रहेका मिटरब्याज पीडित मौसम बिग्रिएपछि बिजुलीबजार नजिक रहेको शिविरमा फर्किएका छन्।
मिटरब्याज पीडितको समस्या समाधान गर्न उच्चस्तरीय आयोगको गठन, तमसुक व्यवस्था खारेज गर्ने, मिटरब्याज पीडितका पक्षमा कानून निर्माण, लेनदेन मुद्दामा सम्पत्तिको स्रोत खोजी गर्ने कानून निर्माण, साहुकारको कब्जामा परेको अवैध सम्पत्ति पीडितलाई फिर्ता, पिडकउपर सहजै ठगी तथा विश्वासघात मुद्दा दर्ता, बैंक तथा वित्तीय संस्थाबाट सहजकर्ताको व्यवस्था, रोजगारीमा जाने युवाका लागि सरकारी सहयोगमा कर्जाको व्यवस्थालगायतका माग संघर्ष समितिले राखेको छ। चैत २ बाट मधेश प्रदेशको बर्दिबासबाट पैदल हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले आफ्ना माग पूरा नभएसम्म गाउँ नफर्किने अडान लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
