समुद्रको ८ हजार ३०० मिटर गहिराइमा पहिलोपटक भेटिए माछा

स्नेलफिसका ३०० भन्दा बढी प्रजाति हुने भएकाले हालै भेटिएका माछा ठ्याक्कै कुन हुन् भन्ने यकिन नभएको वैज्ञानिकको भनाइ छ।

वैज्ञानिकहरूले समुद्रको अत्यधिक गहिराइमा पौडिँदै गरेका माछा क्यामरामा कैद गरेका छन्। 

जापानको दक्षिणी क्षेत्रको इजु–ओगासावारा समुद्रको ८ हजार ३३६ मिटर गहिराइमा मुनि जिनस स्युडोलिपरिस प्रजातिको स्नेलफिसजस्ता माछा पौडिरहेको भिडियो खिचिएको छ।

यो दृश्य एक स्वचालित ल्यान्डरले कैद गरेको थियो। स्नेलफिस अन्य कुनै माछा बाँच्न नसक्ने गहिराइमा पाइएको वैज्ञानिकको भनाइ छ। यी माछाहरूको जेलाटिनस शरिरले  समुद्री सतहभन्दा ८०० सय गुणा बढी चाप हुने ८ किलोमिटर मूनि बाँच्न सहयोग गरेको बताइएको छ। समुद्रको यति गहिराइमा माछा भेटिएको यो नै पहिलोपटक भएको वैज्ञानिकहरूको दाबी छ।

समुद्री ल्यान्डर बनाउने वैज्ञानिक एवं प्राफेसर जेमिसन भन्छन्, “यस गहिराइमा माछा पाइए त्यो स्नेलफिस नै हुने विश्वास गरेका थियौँ। तर गहिरो समुद्रबारे तिमीहरूलाई केही थाहा छैन भन्ने मानिसहरूको भनाइले दिक्क लाग्थ्यो। अब हामीलाई थाहा छ। सबै कुरा द्रुत गतिमा परिवर्तन भइरहेको छ।”

यसअघि प्रशान्त महासागरको ८ हजार १७८ मिटरमा माछा पाइएको थियो। त्यसअघि केबल १५८ मिटरमा मात्रै माछा भेटिएको रेकर्डलाई यसले तोडेको थियो। युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका वैज्ञानिकले ८ हजार २०० देखि ८ हजार ४०० मिटरको गहिराइमा माछा हुनसक्ने प्रक्षेपण १० वर्ष अघि नै गरेका थिए।

त्यसपछि यो खोजका लागि विश्वभर अनुसन्धान गरिएकोमा एक दशकमा यो कुरा पुष्टि भएको बीबीसीले लेखेको छ। स्नेलफिसका ३०० भन्दा बढी प्रजाति हुने भएकाले हालै भेटिएका माछा ठ्याक्कै कुन हुन् भन्ने यकिन नभएको वैज्ञानिकको भनाइ छ।

केही प्रजातिका स्नेलफिस पानीको सामान्य गहिराइमा पनि पाइने गरेका छन्।