कपाल नढाकेको भन्दै इरानमा २ महिला पक्राउ

शनिबार इरानी राष्टपति इब्राहिम रहिसीले ‘धार्मिक आवश्यकता’का कारण महिलाले हिजाब लगाउनु अनिवार्य रहेको बताएका थिए।

शनिबार इरानी राष्टपति इब्राहिम रहिसीले ‘धार्मिक आवश्यकता’का कारण महिलाले हिजाब लगाउनु अनिवार्य रहेको बताएका थिए।

इरानमा सार्वजनिक स्थलमा हिजाब नलगाएको भन्दै दुई महिला पक्राउ परेका छन्। हिजाब नलगाएका दुई महिलामाथि एक पुरुषले दही खन्याइदिएको सीसीटिभी फुटेज बाहिरिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

साथै, सार्वजनिक नियम उल्लंघन गरेको भन्दै दही खन्याइदिने पुरुषलाई पनि पक्राउ गरिएको बीबीसीले जनाएको छ।सार्वजनिक भिडियोमा एक किराना पसलभित्र ती पुरुषले हिजाब नलगाएकी महिलासँग केही भन्छन् र लगत्तै छेउको दहीको बट्टा टिपेर ती दुई महिलाको टाउकोमा पालैपालो खन्याइदिन्छन्।

एकैछिनमा ती पुरुषलाई पसलेले त्यहाँबाट धकेलेर बाहिर लगेको देखिन्छ। महिलाले कपाल देखाएको भन्दै उनीहरूलाई पक्राउ गरिएको इरानको न्यायालयले जनाएको छ। घटना लगत्तै पक्राउ पुर्जी जारी पक्राउ गरिएको इरानी मिजान न्युज एजेन्सीले जनाएको छ।

सार्वजनिकस्थलमा कपाल नछोप्नु इरानमा अवैध मानिन्छ। यद्यपि, ठूला शहरमा कतिपय महिलाहरू हिजाब बिना नै हिडिरहेको देख्न सकिन्छ। हिजाब कानून खारेजीको माग गर्दै केही महिनाअघि इरानमा भएको बृहत् जनआन्दोलनपछि महिलालाई पक्राउ गरिएको यो पहिलोपटक हो। 

यसअघि २२ वर्षीय महसा अमिनीलाई राम्रोसँग हिजाब नलगाएको भन्दै तेहरानको नैतिक प्रहरीले पक्राउ गरेको थियो। त्यसको केहीदिनमा उनको हिरासतमा नै मृत्यु भएको थियो। यो घटना र इरानको हिजाब कानून खारेजीको मागसहित सडकमा आन्दोलन चर्किएको थियो। त्यसपछि सरकारले आन्दोलनमा सहभागी भएको र देशविरोधी काम गरेको भन्दै ४ जनालाई मृत्युदण्ड दिएको थियो।

आन्दोलनका बाबजुद इरान सरकारले हिजाब कानूनलाई निरन्तरता दिएको हो।